• मंसिर १२ २०८१, बुधबार

नेपालले ओमनलाई दियो १८५ रनको लक्ष्य

कार्तिक १९ २०८०, आईतवार

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो।

नेपालका लागि गुलशन झाले सर्वाधिक ५४ रन बनाए। यस्तै, कप्तान रोहित पौडेलले नटआउट ५२ रन बनाए।

नेपालको धर्मराएको ब्याटिङ लाइन सम्हाल्दै गुलशनले विस्फोटक ब्याटिङ गरे। उनलाई कप्तान पौडेलले साथ दिए। गुलशनले २५ बलमा ५४ रन बनाए। २० बलमा अर्धशतक बनाएका गुलशनले ४ छक्का र ५ चौका प्रहार गरे।

यस्तै, कप्तान पौडेलले ३७ बलमा ५२ रन बनाए। जसक्रममा उनले २ छक्का र ५ चौका प्रहार गरे। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभर खेल्दा महत्वपूर्ण ४ विकेट गुमाएको थियो। चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल मात्र ३ रन बनाएर आउट भएका थिए।

नेपालले तेस्रो विकेटका रुपमा ओपनिङ ब्याटर कुशल भुर्तेललाई गुमाएको थियो। २२ बलको सामना गरेका भुर्तेलले ३१ रन बनाए। जसक्रममा उनले २ छक्का र ३ चौका प्रहार गरे।

नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो। आसिफ ६ बलमा ६ रन बनाएर पेभेलियन फर्किएका थिए। दोस्रो विकेटका रुपमा सन्दीप जोरा १० रन बनाएर आउट भए। १३ बलको सामना गरेका जोराले १ चौका प्रहार गरे।

नेपालविरुद्ध ओमानका बिलाल खानले ३ विकेट लिए। अकिब इलियासले २ तथा जिशान मकसूद १ विकेट लिए।