• फाल्गुन ३० २०८२, शनिबार

देशको मियो बन्नुपर्ने कांग्रेस आन्तरिक झगडामा रुमल्लिनु दुःखद हो : नेता कोइराला

कार्तिक १८ २०८०, शनिबार

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा कांग्रेस पार्टी आन्तरिक झगडामा रुमल्लिनु दुःखद भएको बताएका छन् ।

विपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरि नेपालको राजनीति घुमेको प्रसङ्ग स्मरण गर्दै कोइरालाले नेताहरूकै कमिकमजोरीका कारण कांग्रेसको छवि दिनदिनै गिर्दै गएको बताए ।

‘राष्ट्रिय राजनीतिको मियो बन्न सरकारको नेतृत्व नै गर्नपर्छ भन्ने छैन’, कोइरालाले भने, ‘विपी कोइराला जेलमा हुनुहुन्थ्यो पार्टी प्रतिबन्धित थियो तर त्यतिबेला पनि नेपाली कांग्रेस राजनीतिको मियो थियो । मेरो लक्ष्य कांग्रेसलाई फेरि त्यस्तै पार्टी बनाउँने हो ।’

अन्तर्राष्ट्रिय स्तरमै कांग्रेसको छवि गिर्दै जानु राम्रो संकेत नभएको भन्दै उनले अब केवल गुटबन्दी र आत्मरतिमा रमाएर बस्न नहुने बताए ।
नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनलाई धादिङबेसीमा सम्बोधन गर्दै कोइरालाले अब हुने कुनै पनि निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता गरे ।