पश्चिमी भेगमा ठूलो भूकम्पको जोखिम रहेको चेतावनी भूकम्पविद्हरूले यो भन्दा पहिला धेरै अघिदेखि दिदै आएका थिए । भूकम्पविद्हरुको चेतावनीलाई राज्यले गम्भीर रुपमा लिन सकेन । झण्डै ५ सय वर्षअघि पश्चिम नेपालमा ठूलो भूकम्प गएपछि त्यसयता ठूलो भूकम्पको धक्का महसुस पश्चिम नेपालमा भएको थिएन् ।
शुक्रबार राती ११ः४८ बजेको समयमा जाजरकोटको बारेकोट – १, रामीडाँडा केन्द्रविन्दु भएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोटमा र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको छ । क्षतिको विवरण आउन बाँकी छ । यद्यपी अहिलेसम्मको तथ्याङ्क हेर्दा भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ जना पुगेको छ । यो क्षतिलाई हेरेर राज्यले छिटोभन्दा छिटो उद्धार र राहतको काम गर्नुपर्नेछ । सरकारले कति क्षति भयो पूर्ण विवरण कुर्ने बेला यो होइन । अब युद्धस्तरमा उद्धार र राहतको काम गर्नुपर्छ । क्षतिको पूर्णविवरण कुर्न थालियो भने पीडितको अबस्था दयनीय बन्ने छ ।
प्राकृतिक विपत्तिपछि खान नपाएर कोही नमरुन् र फोहोर पानीका कारण बिरामी नपरुन् भनेर पहिलो ध्यान दिनुपर्छ । घाइतेको उपचारको सम्पूर्ण खर्च राज्यले बेहोर्नुपर्छ । यो विपत्तिमा प्रशासनिक निकाय र राजनीतिक नेतृत्व पनि सजग हुनु उत्तिकै जरुरी छ । यसका साथै मानवीय सहायकताको लागि सामाजिक संघसंस्थाका कर्मचारी, स्वास्थ्यकर्मी सबैले हातेमालो गरेर यो विपत्तिमा पीडीतको घाउमा मलमपट्टी लगाउनु पर्छ ।
साथै सरकारले विगतमा २०७२ सालको गोरखाको भुकम्पबाट पाठ सिकेर अहिले जाजरकोट र रुकुम पश्चिममा भएको भुकम्पपीडितका लागि राहत र पुननिर्माणको काम जतिछिटो चाँडो काम अगाडि बढाउनु जरुरी छ । विगतमा पुनिनर्माण र पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माणमा नेता र कार्यकर्ताले भ्रष्टाचार गरे भनेर धेरै कुरा बाहिर आए । यो पटक विपत्तिमा भ्रष्टाचार र अनियमितता भन्ने कुरा नदोहोरियोस् । नागरिकप्रतिको राज्यको दायित्व र कर्तव्य निर्वाह होस् । पुनर्निर्माण र पुनःस्थापनाको चरणमा उदारतापूर्वक राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोत परिचालन गर्न सक्नुपर्छ । अब २०७२ को गल्ती नदोहोरियोस् !
गोलखबर परिवारको तर्फबाट जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।