काठमाडौं । सरकारले बजारमा चिनी अभाव हुन नदिन चिनीको खोजतलास गर्न थालेको छ । अवैधरूपमा बजारमा आउने चिनीको खोजतलास गर्न प्रहरीसँग मिलेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढाएको हो ।
विभागका एक उच्च अधिकारीले अहिले चिनीको खोजतलासका लागि टिम नै खटाइएको जानकारी दिए । चिनीको कालोबजारीको सूचना संकलनका लागि विभागका कर्मचारीसहित सादा पोसाकका प्रहरीलाई खटाइएको स्रोतले जानकारी दियो ।
“अहिले नागढुंगादेखि बनेपाको पनौतीसम्म निगरानी भइरहेको छ । त्यसका लागि टिम नै परिचालित छ । अहिले यो टिमले सूचना संकलन गरिरहेको छ । बजारमा लुकाइराखेको चिनी बाहिर ल्याउने योजना हो । सरकारी अभिलेखमा नरहेको गोदाममा कसैले राखेको रहेछ भने त्यसलाई बेवारिसे ठानेर भन्सारमा पठाइने छ,” स्रोतले भन्यो ।
चिनीको अवैध ओसारपसार तथा कारोबार भएको थाहा भए सर्वसाधारणले पनि प्रहरी तथा विभागलाई सूचना दिन सक्नेछन् । प्रहरीको टोल फ्री नम्बर १०० वा विभागको टोल फ्री नम्बर ११३७ मा सम्पर्क गर्न सकिने छ ।