काठमाडौं । सरकारले बजारमा चिनीको आपूर्ति सहज बनाउन सबै उपाय लगाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले यस्तो निणर्य गरेको हो ।
प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगहरुमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको चिनी बजारमा पठाउने निणर्य भएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
प्रधानमन्त्री कार्यालयका सचिव डा.गणेश पाण्डेयको अध्यक्षतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वाणिज्य मन्त्रालय र भन्सार विभागलगायतका निकायका उच्च अधिकारीहरु सम्मिलित बैठकमा प्रधानमन्त्री कार्यालयले चिनीको आपूर्ति सहज बनाउन सबै उपाय प्रयोग गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।
बजारमा चिनीको कृत्रिम अभाव सृजना गरिएको, उपभोक्ताबाट उच्च मूल्य असुल गरिएको र बजारमा चिनीको कृत्रिम भण्डारण गरिएको सूचनापछि यस्तो निर्देशन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
‘आपूर्ति व्यवस्था सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न निर्मम भएर प्रस्तुत हुन निर्देशन दिइएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘चिनीको भण्डारण र अवैध कारोबार निस्तेज पार्न सबै कानुनी अस्त्र परिचालन गर्ने निणर्य गरेको छ ।’