काठमाडौं । नेकपा(एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको काम–कारबाहीका कारण संसद्को भूमिका प्रभावकारी हुन नसकेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सरकारले संसद्को भूमिकालाई प्रभावकारी बनाउन नदिएको बताएका हुन्। उनले चालू अधिवेशनमा संसद् प्रभावकारी हुन नसक्नुमा सरकारको दृष्टिकोण र गतिविधिहरु जिम्मेवार रहेको बताए।
उनले भने, ‘यो सरकारको काम–कारबाही प्रभावकारी हुन नसक्नुमा मुख्य रुपले सरकार जिम्मेवार छ। सरकारको दृष्टिकोण जिम्मेवार छ। सरकारका गतिविधिहरु जिम्मेवार छन्। कस्तोसम्म अवस्था सिर्जना भयो भनेदेखि मेरो दाबी के छ भन्दाखेरी सरकारले यो सदनलाई प्रभावकारी बन्न दिएन। प्रभावकारी बन्छ कि भन्ने चिन्ताबाट सरकार भयातुर भयो।’
उनले सरकारमा संसद् प्रभावकारी हुने हो कि भन्ने भय देखिएको आशंकासमेत व्यक्त गरे। सांसद पौडेलले संसारभर संसद् प्रतिपक्षको हो भन्ने मान्यता रहेको भन्दै प्रतिपक्षको आवाज सरकारले सुन्नुपर्ने बताए।