प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष तहमा संक्रमणकालीन न्यायका विषयमा एउटा समझदारी बनेकाले छिट्टै टुंगो लाग्ने दाबी गरेका छन्। एमालेले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले त्यस्तो बताएका हुन्।
बुधबार बिहान प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग शान्ति प्रक्रियाको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने विषयमा केन्द्रित रहेर छलफल गरेका थिए।
‘आज बिहान मात्रै नेपाली कांग्रेसका सभापति, एमालेका अध्यक्ष र म बसेका थियौँ, एउटा अन्डरस्टान्डिङ बनेको छ, छिट्टै टुंगिन्छ यो,’ प्रधानमन्त्रीले भने, ‘हामीले पटक-पटक भिक्टिम सेन्टर नै भनेका छौँ। विधेयकमा पनि त्यही कुरा छ।’
प्रधानमन्त्री दाहालले एमाले र कांग्रेस दुवैले गरेको चियापान कार्यक्रमले पार्टीहरूको बीचमा समझदारीको वातावरण बनाएको र आफूले पनि त्यसका लागि पहल गरेको पनि बताए। मैले जहिले पनि दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु।
आज बिहानको मिटिङ पनि त्यही पहल हो। सकारात्मक भएको छ। अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु,’ दाहालले भने।