काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघले सहयोग गर्ने बताएका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले संक्रमणकालीन न्याय टुंग्याउन नेपाललाई एक्लै संभव नभएको भन्दै यसमा राष्ट्रसंघले सहयोग गर्ने बताएका हुन् ।
उनले सम्बोधनका क्रममा नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्र संघले सहयोग गर्ने प्रतिवद्धता दोहोर्याए । उनले नेपालको शान्ति प्रक्रिया टुंग्याउँदा द्वन्द्वकालीन मानव अधिकार उल्लंघनका मुद्दाको सम्बोधन हुनुपर्ने बताए । उनले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन आग्रह समेत गरे ।
महासचिव गुटेरेसले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन सजिलो नभएको बताए । उनले भने,‘संक्रमणकालीन न्याय आफैमा जटिल र प्राविधिक छ । नेपालका नेताहरूले संक्रमणकालीन न्याय टुंग्याउन खेलेको भूमिकाको म प्रशंसा गर्छु ।’
संक्रमणकालीन न्याय टुंग्याउँदा अन्तर्राष्ट्रिय मान्यता, सर्वोच्च अदालतको आदेश र पीडितको भावनाअनुरुप हुनुपर्ने उनले दोहोर्याए । महासचिव गुटेरेसले विश्व शान्ति स्थापनामा नेपाली सेनाले खेलेको भूमिका अतुलनीय रहेको बताए ।
संसदमा सम्बोधनअघि महासचिव गुटेरेस गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेका थिए । त्यहाँ उनले विश्व शान्तिका लागि अपिल गरेका थिए । धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उनले नेपालमा परिहेको जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि सहयोग गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा महासचिव गुटेरेस शनिबार काठमाडौं आएका हुन् ।
सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि उनी पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् । महासचिव गुटरेस भोलि स्वदेश फर्कनेछन् ।