• फाल्गुन २६ २०८२, मंगलवार

माओवादी अखिलले बनायो ९९९ सदस्यीय आयोजक समिति

कार्तिक ९ २०८०, बिहीबार

काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ९९९ सदस्यीय आयोजक कमिटी बनाएको छ । मौजुदा केन्द्रीय कमिटीलाई २३औं राष्ट्रिय सम्मेलन आयोजक कमिटीमा रूपान्तरण गर्दै ९९९ सदस्यमा विस्तार गरेको हो । अखिल क्रान्तिकारीले पदाधिकारीको संख्या पनि विस्तार गरेको छ ।

जसमा उपाध्यक्ष १८ जना, उपमहासचिव २१ जना र सचिवको संख्या नै आधा सय माथि रहेको अध्यक्ष पञ्चा सिंह र महासचिव दीपेश पुनले हस्ताक्षर गरी मातहतका कमिटीमा पठाइएको सर्कुलरमा उल्लेख छ ।

अखिल क्रान्तिकारीमा २२औं राष्ट्रिय सम्मेलनयता नै विवाद थियो । पवन कार्कीको समूहले समानान्तर कमिटी बनाएर गतिविधि गर्दै आएकामा गत भदौ २५ गते पार्टी अध्यक्ष पुष्पकमल दाहालकै रोहवरमा विवाद मिलाइएको थियो ।
अखिल क्रान्तिकारीले गत असोज १९ गतेको निर्णयअनुरूप मौजुदा केन्द्रीय कमिटीलाई सम्मेलन आयोजक कमिटीमा रूपान्तरण गरेको हो ।

क्रान्तिकारीको सम्मेलन आयोजक कमिटीमा रहेका पदाधिकारी एवं सदस्यहरू स्वतः प्रतिनिधि बन्न पाउने छैनन् । उनीहरू सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने छ । गत असोज १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।