• फाल्गुन २६ २०८२, मंगलवार

इजरायललाई इरानको चेतावनी-अमेरिकी सहयोगमा गाजामा आक्रमण नरोके युद्ध नियन्त्रण बाहिर जानसक्छ

कार्तिक ६ २०८०, सोमबार

काठमाडौं । इरानका विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानले इजरायलले गाजामा हमला नरोके मध्यपूर्वको द्वन्द्व नियन्त्रण बाहिर जानसक्ने चेतावनी दिएका छन् ।

उनले इजरायललाई सैन्य सहयोग गर्ने अमेरिका पनि मध्यपूर्व अशान्त बन्नुमा दोषी भएको बताए । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने आफ्नो जीवन रक्षाको लागि लडाइँ गरिरहेको बताएका छन् । उनले हमासविरुद्धको युद्ध ‘गर या मर’को अवस्था भएको पनि टिप्पणी गरे ।

इरानले इजरायलमा आक्रमण गर्ने हमास समूह र हमासको समर्थनमा इजरायलमा रकेट हान्ने लेबनानको हिजबुल्लाह समूह दुवैलाई सहयोग गर्ने गर्छ । यसबीचमा इरानका विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानले भनेका छन्,‘म अमेरिका र इजरायललाई चेतावनी दिन्छु कि यदि उनीहरूले गाजामा मानवता विरुद्धको अपराध र नरसंहार तुरुन्तै बन्द गरेनन् भने, जुनसुकै बेला जे पनि सम्भव हुनेछ र यो द्वन्द्व नियन्त्रण बाहिर जानेछ ।’ मध्यपूर्वको द्वन्द्व नियन्त्रण बाहिर जानसक्ने र त्यसले गम्भीर, तीतो र दूरगामी असर गर्नसक्ने उनको भनाइ छ ।