काठमाडौं । नेपालको पूर्वीक्षेत्रमा गहुँ आयातसँगै उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । गहुँको अभावमा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका बेला आयात थालिएको हो ।
नेपाल सरकारको आग्रहमा भारतले करिब तीन लाख मेट्रिकटन गहुँ आयातको कोटा दिएपछि मैदा उद्योगहरू सञ्चालन हुन थालेका हुन् । यो वर्ष पर्याप्त उत्पादन नभएको र ट्रेडरहरूले सञ्चित गरेकाले गहुँको अभाव हुन थालेको थियो ।
पछिल्लो समय विगत तीन महिनादेखि गहुँ आयात गरिँदैछ । अहिलेसम्म करिब एक लाख मेट्रिकटन गहुँ आयात गरिएको नेपाल फ्लोर मिल एसोसिएसनका केन्द्रीय सचिव विकास बेगवानीले जानकारी दिए ।
गहुँ आयातपछि अहिले ४४ रुपैयाँ प्रतिकिलोमा स्थिर छ । गत वर्ष यसै समयमा गहुँको मूल्य ६४ रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो । गहुँको सञ्चिति गर्ने प्रवृत्ति बढेपछि ४२ रुपैयाँ प्रतिकिलोबाट मूल्य बढेर ४७ रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो ।
नेपालमा वार्षिक करिब नौ लाख मेट्रिकटन गहुँ आवश्यक पर्छ । मैदा उद्योगीले तीन लाख मेट्रिकटन गहुँ आयातको कोटा माग आग्रह गर्दै आएका थिए ।