दलसिंह गिरी । ५ कार्तिक २०८०, सुर्खेत । कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले उपसभामुखको जिम्मेवारीबाट नमूना योग्य र प्रभावकारी भूमिका निभाउन आफूलाई भरपुर सुझाव दिन सबैलाई आग्रह गरेकी छिन् ।
दशैं-तिहार चाडपर्व विशेष एक शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै न्यौपानेले यस्तो आग्रह गरेकी हुन् । ‘आफूले भोगेका विगतका अनुभव र हाल आफूले पाएको जिम्मेवारी अलि फरक भएकोले आजको जिम्मेवारी बहन गर्दैजाँदा जानी-नजानी गल्ती, कमी कमजोरी हुनसक्ने’ भन्दै त्यसलाई सच्याउन सुझाव आवश्यक रहेको उनको भनाई रहेको छ ।
‘कर्णाली प्रदेश सभा संचालनमा इतिहासमै पहिलो पटक सभामुख र उपसभामुखमा हामी महिलाहरुले जिम्मेवारी पाएका छौं, हामीहरु हजुरहरुकै छोरीचेली हौं, हामीले खेल्ने भूमिकामा हामी असफल हुनु सिंगो कर्णालीवासी असफल हुनु हो, त्यसैले सिंगो कणर्ालीलाई राज्यस्तरमै नमूनाको रुपमा चिनाउन तपाईंहरुले प्रभावकारी राय, सुझाव, सल्लाह दिई अभिभावकत्वको भूमिका खेल्न सबैलाई आग्रह गर्दछु ।’ उपसभामुख न्यौपानेले भनिन् ।
नेपाल समाजवादी पार्टी कर्णाली प्रदेश समितिले आयोजना गरेको दशैं-तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै उपसभामुख न्यौपानेले देशमा बढ्दो आर्थिक मन्दीका बाबजुद पनि दशैं, तिहार, तीज जस्ता चाडपर्वहरुमा देखाइने खर्चिलो र भड्किलो लवाई खवाई, रहन सहनले समाज कतै जोखिमको भड्खालोमा जाने हो कि ? भन्दै चिन्ता ब्यक्त समेत गरिन् ।
उनले मित्रता, सद्भाव, पारिवारिक तथा सामाजिक जमघट स्वरुप मनाइने यस्ता साँस्कृतिक महत्व बोकेका चाडपर्वहरुमा अहिलेको आधुनिक परिवेशका कारण अरुलाई देखाउनकै लागि भएपनि ऋण सापट गरेर मनाइने चलनले न्यून आय भएका ब्यक्तिहरुका लागि कतै भोलिका दिनहरुमा जटिल परिस्थिति बन्दै जाने त होइन ? भन्दै चिन्ता ब्यक्त गरिन् ।
न्यौपानेले समाज परिवेश र आफ्नो आर्थिक अवस्थालाई मापन गरेर मात्र चाडपर्व मनाउन सबैलाई सुझाव सल्लाह दिइन् । साथै उनले दशैं, तिहार एवं छठ पर्वको अवसरमा शुख शान्ति एवं समृद्धिको शुभकामना पनि ब्यक्त गरिन् ।
नेपाल समाजवादी पार्टीका प्रदेश अध्यक्ष लक्ष्मीप्रसाद भट्टराईले चाडपर्व विशेष शुभकामना आदान प्रदान मात्र नभै देशमा भइरहेको अस्थिरता बारे सचेत नागरिकले आ-आफ्नो क्षेत्रबाट खेल्नुपर्ने भुमिका बारे अन्तरक्रिया गर्न पनि कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रम नेपाल समाजवादी पार्टीका कर्णाली प्रदेश समिति अध्यक्ष लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षता, कर्णाली प्रदेश सभाको उपसभामुख यशोदा न्यौपानेको प्रमुख आथित्यता, नेपाली कांग्रेस कणर्ाली प्रदेश उपसभापति कालिबहादुर सहकारी, नेकपा समाजवादी पार्टी केन्द्रीय परिषद सदस्य बसन्बहादुर वि.क, एमालेका अमृत विसी, नेकपा माओवादी केन्द्रका प्रेमबहादुर रावत, नेपाल कम्युनिष्ट पार्टीका ध्रुब सी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर खत्री लगायतको विशेष आथित्यतामा संचालित कार्यक्रममा वक्ताहरु शुख, शान्ति र समृद्धिको शुभकामना दिँदै आआफ्नो धारणा ब्यक्त गरे ।
कार्यक्रममा उद्योगी, ब्यवसायी, र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।