नवलपुर । नवलपरासीको गैँडाकोट नगरपालिकास्थित विकट पहाडी गाउँमा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गैँडाकोटका नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारी सहितको टोलीले आफ्ना वडाका सम्पूणर् लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो ।
वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर लाभग्राहीलाई प्रदान गरेको वडाध्यक्ष शिवकान्त तिवारीले बताए । तिवारीले भने, “नगरपालिकाले एकमुष्ट लाभग्राहीको व्यक्तिगत खातामा रकम जम्मा गरिदिन्छ, भूगोलका कारण वृद्ध बाआमालाई हिँडेर बैंकसम्म पुग्न समस्या हुन्छ । त्यसैले हामीले सहजीकरण गरेर सबैको पैसा घरमा नै पुर्याएका हौँ ।” नगरपालिकाले सबैको खातामा पैसा हालिदिएपछि लाभग्राहीको घरमा पुगेर चेक जम्मा गरेर वडा कार्यालयले बैंकमा पुगेर सबैको रकम एकमुष्ट साटेर लाभग्राहीको हातमा दिएको वडाध्यक्ष तिवारीले बताए ।
“हामीले बैङ्कका कर्मचारीलाई हाम्रो विश्वास लाग्दैन भने हामीले चेक लिने बेलामा सबै वृद्ध बुबाआमाले चेकमा ल्याप्चे लगाउनुभएको भिडियो खिचेर तपाईंहरुलाई ल्याएर देखाउँछौँ भनेपछि बैङ्कका कर्मचारीले विश्वास गरेर रकम साटिदिनु भएर हामीले घरमै पुर्याउन सफल भएका हौँ,” उनले भने । बैङ्किङ पद्धतिबाट पैसा आउने गरेको भन्दै वडाध्यक्ष तिवारीले भूगोलका कारण लाभग्राहीलाई बैङ्कसम्म पुग्न कठिन हुने भएकाले आफूहरूले सहयोग गरेको बताए । “हाम्रो वडाबाट एकपटक भत्ता बुझ्न जाँदा प्रतिव्यक्ति तीन हजार रुपैयाँसम्म खर्च हुने बाटो छ,” उनले भने, “यस्तो समस्याको समाधान गर्नुपर्ने हामी जनप्रतिनिधिको दायित्व पनि हो । त्यसैले रकम घरमै लगेर वितरण गरेका हौँ ।”
सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफूसहित वडा सदस्यहरूलाई समेत परिचालन गरेको वडाध्यक्ष तिवारीले बताए । “दसैँका लागि मात्रै हामीले भत्ता घरमा पुर्याउन लागेका होइनौँ”, उनले भने, “मैले मेरो पहिलो कार्यकालदेखि नै सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउँदै आएको छु । हामी वडाका सबै जनप्रतिनिधि मिलेर सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिन्छौँ ।” वडामा रहेका दुई सय २२ घरधुरीका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिन लागेको उल्लेख गर्दै उनले सबैको रकम जोड्दा करिब रु २२ लाख हुने उनले बताए ।