काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ ।
सन् २०२३ सुरु भएदेखि हालसम्म ४० हजार ५३१ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, संक्रमणका कारण हालसम्म २० जनाले ज्यान गुमाइसकेका छन् ।
डेंगुको संक्रमणको जोखिम केही जिल्लाहरूमा अझै बढ्न सक्ने विज्ञको अनुमान छ । गत वर्ष काठमाडौं उपत्यकामा महामारीको रूप लिएको डेंगु केही दिनयता उपत्यकासहित केही जिल्लामा बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।
यो वर्ष सबैभन्दा धेरै डेंगुबाट प्रभावित भएका सुनसरी, झापा, धादिङ, मोरङलगायत जिल्लामा संक्रमणदर घट्दै गएको छ । तर, गोरखा, कास्की, तनहुँ, काठमाडौंमा भने बढ्दै गएको छ । महाशाखाको तथ्यांक अनुसार यसवर्ष डेंगु संक्रमण ७६ जिल्लामा देखिसकेको छ ।