सिमरा । नेपालीहरुको महान चाड दशैं नजिकिँदै जाँदा बारा जिल्लाको १६ वटै पालिकाहरुमा कालोबजारी व्यापारी सल्बलाउँदै कृतिम महँगी बढाएपछि जिल्लाका आमउपभोक्ता ठगिमा पर्दा समेत कुनै पनि सरकारी तवरबाट निरिक्षण नभएको उपभोक्ताले गुनासो गरेका छन् ।
जिल्लाको कलैया उपमाहानगरपालिका जितपुरसिमारा उपमाहानगरपालिका निजगढ नगरपालिका कोल्हबी नगरपालिकाका व्यापारीहरुले कृतिम महँगी बढाएको कलैया उमनपा-१० उमेश महतोले जुरेली न्युजसित दुखेसो गरेका छन् । उनका अनुसार कलैया बजारको प्रयःजसो पसलका व्यापारीहरुले ३० देखि ४० प्रतिशतसम्म उपभोग्य सामानको मूल्य बढाएको र कालाबाजारी गरेको उनको आरोप छ ।
दैनिक भान्छामा प्रयोग हुने तरकारी, चामल र मसलाको मूल्यमा भारी वृद्धि भएको र चाडबाडमा यी वस्तुको बढी खपत हुने भएकोले व्यापारीले मनोमानी भाउ बढाउँदा समेत बजार हेर्ने अधिकारी कोही पनि नदेखिँदा बजारमा लुट मच्चाएको सिमाराका एक स्थानीयले बताए ।
जिल्लाको मुख्य बजारमा कलैया, जितपुर, सिमारा, निजगढ र कोहल्बी पर्दछन् । यी बजारहरुमा पालिका स्तरबाट पनि बजारमूल्य निर्धारण र अनुगमन गर्नुपर्नेमा पालिका प्रमुखहरु नै कालाबजारी व्यापारीको नियन्त्रणमा रहेकोले पालिका तवरबाट बजार अनुगमन हुन नसकेको डुमरवानाका रोसन अधिकारिको आरोप छ ।
यता इलाका प्रहरी कार्यालय सिमाराका डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार बजारमा भएको कोलाबजारीको अनुगमन भएको र कतैबाट उजुरी आए प्रहरी कार्वाही गर्न तयार रहेको बताए ।