काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् । बिहीबार प्रेस युनियन काठमाडौंले आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अबको चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन गर्न नहुने बताएका हुन् । ‘अबको चुनावमा कांग्रेसले गठबन्धन गर्दैन, गर्यो भने पार्टी एक रहन्न,’ उनले भने ।
बागमती प्रदेशका केही कांग्रेस सांसदहरूले माओवादीलाई मुख्यमन्त्री फेर्न भनेर आफूलाई भेट्न आएको पनि उनले बताए । ‘बागमती प्रदेशका केही कांग्रेस सांसद मलाई भेट्न आए । माओवादीलाई मुख्यमन्त्री मान्न सकिन्न सरकार फेरौं भन्नुभएको छ । म यो काम गर्दिनँ, सभापति र शेखर कोइरालालाई भेट्न भनेको छु,’ थापाले भने ।
कोशी प्रदेशमा भएको घटनाक्रमबारे उनले सभापति शेरबहादुर देउवा आफै जिम्मेवार हुनुपर्ने बताए । अँध्यारो कोठामा बैठक गरी निणर्य गरेकाले अब फोहोर पनि आफैले उठाउनुपर्ने भनेर हात जोडेर देउवासँग भनेको पनि उनले बताएका छन् ।
‘सभापति देउवालाई हात जोडेर भनेको छु, आफू अँध्यारो कोठामा बैठक गरेर निणर्य गर्ने गर्नुहुन्छ । अब फोहोर पनि आफैं उठाउनुस्,’ उनले भने । यस्तै, फागुन १ गतेलाई कांग्रेसले जनयुद्ध दिवसको रूपमा मान्न नसक्ने पनि उनको भनाइ थियो ।