काठमाडौं । सभामुख देवराज घिमिरेले उच्च तहका नेता र पदाधिकारी बोलाएर कार्यक्रमको उद्घाटन गर्नु सामन्तवादकै सिको भएको बताएका छन् । बुधबार काठमाडौंमा फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक लाइफ इन पेण्डामिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन् ।
उनले उच्च तहका नेता र नेतृत्वमा रहेका व्यक्तिहरूलाई बोलाएर कार्यक्रम उद्घाटन गर्ने परम्परा हटाउन जरुरी रहेको बताए । पुस्तक विमोचन कार्यक्रममा साहित्यकार वा पत्रकारितामा जीवन बिताएका लेखकको पुस्तक भएकाले पत्रकारहरू नै प्रमुख अतिथि बनाउन योग्य हुने घिमिरेले बताए ।
‘पुस्तक लोकर्पण कार्यक्रममा म नै किन आउनुपर्यो होला ? यो विवेचनाको विषय हो । तपाईंहरूले यसमा विवेचना गर्नुस्, निस्कर्ष निकाल्नुस् र एउटा कन्सेप्ट बनाउनुस् । त्यसको मतलब के हो भने म भन्दा अरुलाई बोलाएर यो कामको उद्घाटन गर्नु बेटर हुन्थ्यो,’ उनले भने ।
राजतन्त्र हुँदा राजा वा राजाको परिवारहरू विभिन्न ठाउँमा उद्घाटन, शिलान्यास लगायतका कार्यक्रम हुने भन्दै अहिले पनि सोही कुरालाई निरन्तरता दिनु सामन्तवादकै सिको भएको उनको भनाइ छ ।