विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज बुधबार विश्वासको मत लिँदैछन् ।आज बस्ने प्रदेशसभा बैठकमा नवनियुक्त मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बहुमत पुर्याएर मुख्यमन्त्री बनेका कार्कीले प्रदेशमा कम समयमा विश्वासको मत लिने भएका हुन् । विश्वासको मतका लागि ३० दिनको समयसीमा रहँदै गर्दासमेत कम समयमै विश्वासको मत लिन कार्की तयार भएका छन्।
कांग्रेसबाट ८ र एमालेबाट ३९ जनाको समर्थनसहित मुख्यमन्त्री भएका कार्कीलाई गठबन्धनबाट समेत समर्थन रहनेछन्। १३ प्रदेशसभा सदस्य रहेको नेकपा माओवादीको प्रदेश कमिटीले समेत कार्कीलाई समर्थन गरे पनि संसदीय दलले भने मंगलबारमात्र समर्थन जनाएको छ ।
माओवादी संसदीय दलको नेतामा इन्द्र आंग्बो रहेका छन्, उनी मुख्यमन्त्रीका अर्का दाबेदार रहेका थिए। अर्कोतर्फ ४ सिट रहेको नेकपा एकीकृत समाजवादीले कार्कीलाई विश्वासको मत दिने भएको छ। अघिल्लोपटक समेत मौन बसेको राप्रपा भने यसपटक पनि तटस्थ बस्ने भएको छ ।
कार्कीले हाल मुख्यमन्त्रीसहित दुई विना विभागीय मन्त्रालयको मन्त्रीपरिषद् गठन गरेका छन् । इलामबाट कांग्रेसका शमशेर राई र नेकपा एमालेका संसदीय दलका उपनेता राम राना रहेका छन् । कार्कीले विश्वासको मत हासिल गरेपछि मन्त्रिपरिषद् पनि विस्तार गर्नेछन् ।