मस्टोपूजक खस आर्य जातिमध्ये एशियाबाट आएर पश्चिम नेपालमा फैलिएको एउटा महाजाति हो । संस्कृतिविद तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले मष्टोलाई शैव र वैदिक संस्कृतिको मिश्रित रुप बताउनुभएको छ । खसहरुमा पहिले वणर् व्यवस्था थिएन । प्राचीन कालमा खसहरुले वैदिक कर्मकाण्डका विरुद्धमा ठूला-ठूला संग्रामहरुमा भाग लिएको इतिहास पनि पाइन्छ ।
खसहरुको आदर्श इतिहास बोन संस्कृतिसित जोडिएको देखिन्छ । बृहत् नेपाली शब्दकोशका अनुसार बोन हिमाल र भोटमा बौद्ध धर्मले प्रवेश गर्नुभन्दा पहिले तन्त्रमन्त्र झारफुक आदिमा आश्रित एउटा आदिम धर्म थियो । आज पनि भारतको उत्तराञ्चलका कुमाउ, गढवाल र हिमाञ्चल प्रदेशका कतिपय स्थानहरुमा खसहरुले कुल पूजाका रुपमा विभिन्न नामका मष्टोहरुको पूजा गर्दछन् । खस जातिको बाहुल्य भएको नेपालमा कुल देवताको पूजा वा देवालीमा धामी काँम्ने, उफ्रने, अखान बखान गर्ने, मष्टोेका गीतहरु गाउने, लाइन लगाएर बोकारुको बलि दिने प्रचलन छ ।
खस आर्यहरुले यसलाई ठूलो पर्वका रुपमा आमोद-प्रमोद गरेर मनाउँदछन् । यो नै बोन संस्कृतिको झलकका रुपमा आजसम्म कायम रहेको देखिन्छ । वैदिक कर्मकाण्ड नमान्ने र वणर् व्यवस्था पनि नमान्ने इतिहास बोकेका खसहरु मध्यकालमा वैदिक ब्राम्हण, क्षेत्रीयहरुको सम्पर्क र तिनको प्रभावका कारण पूणर्रुपमा हिन्दुकरण हुँदै गएको तथ्य इतिहासमा पाइन्छ । त्यसो त इसाको पाँचौं सताब्दीतिर खसहरु कुमाउबाट पश्चिम नेपालमा प्रवेश गर्नुभन्दा पहिले नै खसहरु कुनै न कुनै रुपमा हिन्दु धर्म र वणर् व्यवस्थाप्रति आकर्षित हुँदै गरेको पनि देखिन्छ ।
खसहरु हिन्दुकरण हुने प्रक्रिया एकैचोटी अभियानका रुपमा अगाडि बढेको थिएन । आज पनि पश्चिम नेपालमा तागाधारी (जनै लगाउने) हुनबाट छुटेका मतवाली क्षेत्री (यानै खस) हरुका ठूला-ठूला बस्तीहरु छन् । यिनीहरुका रीतिथिति र परम्पराहरु पनि हिन्दु संस्कारबाट प्रभावित छन् । तर यिनीहरुले ब्राम्हण वा पुरोहितको आवश्यकता ठान्दैनन् । तिनीहरुले हिन्दु देवताहरुको नाम भने लिने गर्दछन् ।
मध्यकालमा खसहरुले आफ्नो राज्य त्रिशूली नदी भन्दा पश्चिम सम्पूणर् नेपाल, तिब्बतको युराङ गुगे हिमाल, मानसरोवर र भारतको केदारनाथसम्म फैलिएको थियो । कर्णाली सभ्यताका रुपमा विकसित भएको यो खस राज्यको राजधानी जुम्लाको सिंजाबेसीको खस भाषा हो । खसहरु हिन्दुकरण भएसँगै खस भाषाले विशेषतः संस्कृत भाषाका सहज शब्दहरुलाई आफ्नो भाषा भण्डारमा राखेर संरक्षण गर्दै अगाडि बढाउन पुग्यो । यसरी हिन्दुकरण भएका खस-आर्य जाति शक्तिपूजकहुँदै गए । त्यसपछि मष्टो परम्परा र त्यसका गीतहरु पनि परिमार्जित हुँदै गए । यसरी मष्टोका विविध नामहरु शिव, काली, भगवती, दुर्गा आदिसित जोडिँदै जाने परम्पराको थालनी भएको देखिन्छ ।
पश्चिम नेपालमा खसहरुको शक्तिशाली साम्राज्य स्थापना भएपछि खसहरुले मष्टोको उत्पत्ति र औचित्यको प्रश्नमा पनि हिन्दु जडित कथाहरुको व्याख्या गर्नु स्वाभाविक थियो । तदनुरुप दशैं र दुर्गा भवानीको सेवामा खसहरुको यस्तो किंबदन्ती प्रचलनमा आयो । डा.जयराज पन्तद्वारा लिखित महत्वपूणर् खोजमूलक पुस्तक ‘मष्टा परम्परा र त्यसका गीतहरु’ मा सो किंबदन्तीलाई यसरी प्रस्तुत गरिएको छ ।
धेरै पहिलेको कुरा हो देवासुर संग्राममा देवी भगवतीको असाधारण शक्तिका सामु राक्षसहरु समाप्तप्रायः भएका र बाँचेकाहरुले जीवन रक्षाका निमित्त घुँडा देक्न बाध्य बनेका थिए । देवताका अगाडि राक्षसहरुले आत्मसमर्पण गरेपछि त्यो युद्ध समाप्त भएको थियो । युद्ध र कलहको वातावरण शान्त भइसकेपछि राक्षसहरुका मतभित्रको देवताप्रस्तको जलन आउन थाल्यो । उनीहरु पुनः संगठित भई जनजनलाई त्रस्त पार्न थाले । देवताहरुले सुरुसुरुमा उनीहरुको उपद्रलाई महत्व नदिएकाले एकपछि अर्को गरी विभिन्न घटनामा उनीहरुरुले सफलता पाएको गौरव अनुभूति गन थाले ।
उनीहरुको मनोबल बढ्न थाल्यो । हुँदाहुँदा एक दिन समूहमा आएका राक्षसहरुले अपर्झट हमला गरी माता दुर्गा भवानीलाई आफ्नो नियन्त्रणमा लिएर तिनको अस्तित्वहरण गर्न खोजे । त्यो कुरा देवगणले थाहा पाई भगवान शङ्करका शक्तिशाली गण मष्टाको नेतृत्वमा एक दल योद्धाहरु दुर्गा माताको रक्षाका निमित्त पठाए । मष्टाले बडा साहसका साथ युद्धको मोर्चा सम्हाल्यो । स्वयं अग्रसर भएर यसले राक्षसहरुसित युद्ध गरी माता दुर्गालाई मुक्त गर्यो । दुष्ट राक्षसहरुबाट बचाएको हुनाले दुर्गाले भाई मानेर मष्टोलाई स्नेह दिइन् र आफ्नो सानिध्यमा राख्ने व्यवस्था मिलाइन् । भगवान शङ्करको क्षेत्रभित्र रहँदारहँदै पनि पछि गएर यो माता दुर्गा भवानीको सेवामा बढी संलग्न हुन थाल्यो र दिदी मानेर निजप्रति श्रद्धाभक्ति अर्पण गरी शिव र शक्तिको मुख्य सेवकका रुपमा समीक्षा क्षेत्रको अधिकारी भएर रहन थाल्यो ।
त्यसैगरी मष्टो न्याय र अन्याय छुट्याउने दुर्गा भवानीको भाइ देवता भएको कारणले मष्टोले बिना श्रद्धा दिएको बलि र पूजा सामग्री ग्रहण गर्दैन भन्ने प्रचलन छ । खसहरु (क्षेत्री, बाहुन, कामी, सार्की, ठकुरी, सन्यासी, वादी, घर्ती, गाइने भनेर मष्टोको थानमा पुनः दण्डस्वरुप धजा भेटी चढाएर पुनः पानी छर्के मन्टो हल्लाएपछि मात्र बलि दिने प्रचलन छ । विशेषतः पश्चिम नेपाल, त्यसमा पनि कर्णाली प्रदेशमा मष्टोको थानमा पूजा सामग्री श्रद्धापूर्वक चढाएको वा नचढाएको कुरा धामीले थरथरी काम्दै उफ्रेर बोल्ने प्रचलन छ ।
खसहरुले आफ्ना आदिम देवता मष्टोलाई दुर्गा भवानीको भाइ देवताका रुपमा समय क्रममा स्वीकार्न थालेपछि खस आर्य समुदायमा दशैं पर्वको महिमा तोडिन पुगेको देखिन्छ । देवी भागवतमा दुर्गा भवानी र महिसासुर लगायत राक्षसहरुका बीचको युद्धको कथा र मष्टोपूजक खस-आर्य जातिको दुर्गा भवानी र राक्षसहरु सम्बन्धी किंबदन्तीको कथावस्तुमा केही अन्तर देखिए तापनि सार भने एउटै देखिन्छ ।
त्यो सार भनेको ‘असत्यमाथि सत्यको विजय’ हो । यसरी खस समुदायमा वैदिक परम्परा प्रवेश गरेपछि खसहरुले मष्टो, बराह, कुलानी आदिको पूजामा बलि पनि दिने र त्यसै स्थानमा बलि दिनुपूर्व पुरोहित ब्राम्हणलाई बोलाएर होम गर्ने प्रचलन चल्यो । हिन्दु संस्कृतिको इतिहासमा कछुवा, बोका, भेडा, घोडा आदिको मात्र होइन, मान्छे समेतको बलि दिने गरेको क्रुर संस्कृति पनि पाइन्छ । तर कट्ट स्वत्तिनु हिन्दु परम्परा अनुसार कोटिहोम र बलि एकै स्थानमा गरेको पाइँदैन । गैरवैदिक खसहरुले आफ्नो बोन धार्मिक परम्परा धान्ने र हिन्दु सांस्कारिक परम्पराको अनुशरण पनि गर्ने नीति, थिति अंगालेको कारणले यस्तो भएको हुन सक्दछ ।
खस आर्य जातिको बाहुल्य भएको नेपालमा दशैंलाई सबभन्दा ठूलो चाड या पर्वको रुपमा मान्ने प्रचलन छ । तर वैदिक आर्यहरुको बाहुल्यता भएको भारतमा तिहारलाई मुख्य चाडका रुपमा मनाउने प्रचलन छ । तिहारलाई भारतमा दीपावली भनिन्छ । दीपावलीमा मूलतः लक्ष्मीको पूजा हुन्छ । लक्ष्मी भनेकी धनकी देवी हुन् । तिनलाई बलि दिइँदैन । दुर्गा भवानी बलि स्विकार्ने शक्तिकी देवी हुन् । दशैंलाई वैदिक हिन्दुहरुले पनि मुख्य पर्वका रुपमा नमाने पनि दोस्रो पर्वका रुपमा धुमधामले मनाउँछन् ।
नेपालमा तिहारलाई दोस्रो चाडका रुपमा मनाइन्छ । दशैं पर्वलाई खस आर्य तथा वैदिक आर्य दुबैले ‘असत्यमाथि सत्यको विजय’ का रुपमा ग्रहण गर्दछन् । दशैंमा भारतमा दुर्गा भवानीको पूजाका साथ साथै राम-रावणको कथामा आधारित रामलीलाको प्रदर्शनलाई विशेष महत्व दिएको पाइन्छ । तदनुरुप अष्टमीदेखि आस्तिक परम्परावादी वैदिक हिन्दु आर्यहरुले माछा, मासु त के लसुन प्याजसम्म पनि खाँदैनन् तर नेपालमा अष्टमीबाट नवदुर्गा देवी भवानीका मन्दिर तथा शक्तिपीठहरुमा बलि दिने र हतियारहरुको पूर्जा गर्न थालिन्छ ।
नेपालमा अष्टमीपछि त भोजन नै मासु, माछा भएको देखिन्छ । दशैंमा आफूभन्दा ठूलाका हातबाट दही चामलका अक्षताको टीका, जमरा लगाउने प्रचलन छ । तर भारतका वैदिक आर्यहरुको समुदायमा यो प्रचलन छैन । नेपालका मगर, गुरुङ लगायतका जनजातिहरुको आदिम संस्कृति पनि बोन संस्कृति नै हो । यिनीहरु पनि सियो, भूमे, अन्न र प्रकृति पूजक हुन् । टीका, जमराको संस्कृति खस जसमुदाय जनजातीय संस्कृतिको रुपमा आएको देखिन्छ ।
खस आर्य जाति एउटा चलायमान जाति भएकोले सांस्कृतिक सङ्घुलन यो जातिको संस्कृति जस्तो देखिन्छ । कुनै परम्परा, धर्म र संस्कृतिमा कट्टर नभएको यो जातिले आफ्ना पर्वहरुमा जनजातीय मूल्यहरुको समिश्रण गराएको छ । जनजातिहश्ररुले मान्ने सिउ, भूमे र सिमको पूजामा पूजा सामग्री चढाउने र खस आर्य जातिले खस भाषालाई नेपाली भाषाका रुपमा विकसित गरायो । दशैं, तिहार जस्ता चाडपर्वहरुलाई समग्र नेपाली चाड र संस्कृतिका रुपमा स्थापित गराएको देखिन्छ । खस आर्यहरुका बराह र मगरहरुका भूमे, सिमे एउटै देवता हुन् भन्ने भनाइ पनि छ ।
पश्चिम नेपालमा खस साम्राज्यहरुको उदय सँगसँगै कोट सभ्यताको विकास भयो । यो समयमा राजा तथा रजौटाहरु समेत कोटमा बस्दथे । राजदरबार कोटमा स्थापना गर्नुको मुख्य कारण हावापानी र सुरक्षा थियो । खस साम्राज्य स्थापनार्थ लडिएको लडाइँको एउटा प्रमुख हतियार खड्ग थियो । खड्गमा ठूलो दैवीशक्तिले बास गरेको हुन्छ भन्ने त्यतिबेलाको मान्यताका आधारमा कोटहरुमा खड्गपीठहरुको स्थापना गरियो । यस्ता पीठहरु विशेषतः राजदरबारको नजिक दुर्गा र पहाडका टुप्पाहरुमा स्थापना गरिएका थिए ।
पछि नेपालमा खस साम्राज्य बाइसे राजामा परिणत भएपछि खड्गपीठहरुको धर्म विस्तार भएको देखिन्छ । खस साम्राज्यको कोट सभ्यताका रुपमा स्थापित खड्गपीठहरुहरुका प्रांगणमा अष्टमीमा राँगा, बोका, हाँस, कुखुरा आदि बलि दिने र परेवा उडाउने स्थानका रुपमा मात्र होइन, तरवार नचाएर सराया खेल्ने विजयोत्सव मनाउने मैदानका रुपमा विकास भए ।