• मंसिर ११ २०८१, मंगलवार

नेवारी समुदायमा दशैंको नवौं रात्रीमा पुजिने दुर्गा पूजा

आश्विन २८ २०८०, आईतवार

नेपालीहरुको ठूलो चाड दशैं नेवार मौलिकताले भरिएको चाड हो । दशैं चाडको बेलामा जमरा राख्ने दिनदेखि नौ दिनसम्म मनाइने नवरात्रीका नवदुर्गा भवानीको अत्यन्तै ठूलो मूल्य र मान्यता रही आएको छ । यो नवरात्रीको समयमा नवदुर्गा भवानीका विभिन्न शक्तिपीठमा पूजा गरी बलि दिएर शास्त्रोक्त र तान्त्रिक विधिअनुसार आराधना गर्ने चलन छ ।

यो नवरात्रीमा नौ दिनसम्म विहान सबेरै उज्यालो नहुँदै परम्परागत साँस्कृतिक बाजा बजाउँदै नेवार समुदाय दिनको एउटा पीठमा गई देवीको पूजा आराधना गर्ने गर्छन । एक त दशैंको समय रमाइलो वातावरणको समय र उसमाथि विहान सबेरै बाजा घन्केको आवाज गुञ्जिँदा एकदमै रमणीय हुन पुग्छ ।
हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म पूजा गरी मनाइने नवरात्रीको नवदुर्गा बारे संक्षिप्त यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु ।

१) शैलपुत्री :
नवरात्रीमा पहिलो दिन आश्विन शुक्ल प्रतिपदाका दिन प्रत्येक घरमा जमरा राख्न चोखो नितो गरेर खोलाको बालुवा ल्याएर तिल, जौ, मकै राखेर जमरा रोपिन्छ । यो दिन नवदुर्गा भवानीको पहिलो स्वरुपको रुपमा शैलपुत्रीको पूजा आराधना गरिन्छ । कमलको फूल र त्रिशुल धारण गरेर साँढे चढिरहेकी, अर्धचन्द्रयुक्त मुकुट धारण गरी शैलीपुत्री रुप भएकी, मनले चिताएको फल दिने महादेवका प्रिय यशस्विनी देवी, सम्पूर्ण दुःख नाश गर्ने श्री शैलपुत्री भवानीलाई आराधना गरिन्छ ।

प्राचीन ग्रन्थका अनुसार जगदम्वा भगवतीले सत्य युगमा सतीदेवीको रुपमा जन्म भई पुनः हिमालय पर्वतका पुत्री पार्वतीको रुपमा जन्म लिएकी शैलपुत्री नामले प्रसिद्ध भइरहेकी छिन । शैलपुत्रीलाई हेमवती पनि भन्ने गरिन्छ । शैलपुत्रीको विवाह महादेवसँग भएको थियो । शैलपुत्रीको आराधना गर्दा साधकले आफ्नो मनलाई “मूलाधार” चक्रमा केन्द्रित गरेर आह्वान गर्नुपर्छ । यसले गर्दा योग साधना प्रादुर्भाव हुन जान्छ ।

२) ब्रम्हचरिणी :
नवरात्रीको दोस्रो दिन आश्विन शुक्ल द्वितीयाका दिन नवदुर्गा भवानीको दोस्रो स्वरुपको रुपमा रहेकी श्री ब्रम्हचरिणी भगवतीको महिमा अत्यन्तै महत्वपूर्ण छ । ब्रम्ह शब्दको अर्थ तपस्या र चरिणीको अर्थ आचरण हो । तपस्या गर्ने आचरण भएकीले ब्रम्हचरिणी देवी भनिएको हो । दक्षप्रजापतिका छोरी सतीदेवी पार्वतीको रुपमा जन्म लिएपछि महादेव पति पाउँ भनि तपस्या गरेकीले ब्रम्हचरिणी भनिएको हो । ब्रम्हचरिणीको बाहन छैन । सेतो वस्त्र लगाई कमलको फूलको गहना लगाई जपमाला, कमण्डलु धारण गरेकी ज्योतिर्मय रुप भएकी कहिल्यै नाश नहुने अक्षय वरदान दिने श्री ब्रम्हचरिणी भगवतीलाई सम्पूर्ण सिद्धि र वुद्धिको लागि आराधना गरिन्छ । ब्रम्हचरिणीको आराधनाले तप, त्याग, वैराग्य, सदाचार र संयमको बृद्धि हुन्छ भनिन्छ ।

३) चन्द्रघण्टा :
नवरात्रीको तेस्रो दिन आश्विन शुक्ल तुतीयाका दिन श्री नवदुर्गा भवानीको तेस्रो शक्तिको रुपमा प्रादुर्भाव भएकी श्री चन्द्रघण्टा भगवतीको महिमा अत्यन्तै महत्वपूर्ण छ । शिरमा अर्ध चन्द्रयुक्त घण्टा आकारको मुकुट धारण गर्ने भएकीले चन्द्रघण्टाका नामले प्रसिद्ध भएको हो । स्वर्णमय दिव्य शरीर भएकी, दश हात भएकी विभिन्न शस्त्र अस्त्र धारण गर्ने सिंहमा सवार भएकी सबै भूत, प्रेत, पिशाच नष्ट गरी भक्तका दुःख कष्ट, शत्रु नाश गरी भक्तलाई मंगल गर्दै रक्षा गर्ने चन्द्रघण्टा भगवतीलाई बारम्बार प्रणाम गर्दै प्रार्थना गर्छन् ।

४) कुष्माण्डा :
नवरात्रीको चौथो दिन आश्विन शुक्ल चौथीका दिन श्री नवदुर्गा भवानीको चारौं शक्तिको रुपमा प्रादुर्भाव भएकी श्री कुष्माण्डा भगवतीको पनि ठूलो महिमा छ । सूर्यको जस्तै तेज भएकी, आठ हात भएकी श्री कुष्माण्डा भगवतीको उपासनाले सम्पूर्ण रोग र शोक नहुने जन विश्वास छ । अट्टहास गर्दा ब्रम्हाण्डको उत्पति र विनाश गर्ने शक्ति भएकैले कुष्माण्डा भनिएको हो । सिंहवाहिनी भई कमण्डलु, धनु, वाण, कमलको फूल, अमृतले भरिएको कलश, चक्र, गदा र जपमाला धारण गरिरहने श्री कुष्माण्डा भगवतीलाई आफ्नो अभिष्ट पूरा गर्न साधकले उपासना गर्छन ।

५) स्कन्दमाता  :
नवरात्रीको पाँचौं दिन आश्विन शुक्ल पञ्चमीमा श्री नवदुर्गा भगवतीको पाँचौ स्वरुपको रुपमा प्रादुर्भाव भएकी श्री शक्ति स्वरुपा स्कन्दमाता हुन । श्री स्कन्दमाता भगवतीले मोक्षको द्वार खोलेर सबै इच्छा पूरा गरिदिन्छिन् । कमलको फूलको आसनमा बस्ने श्वेतवर्ण, तीन वटा नेत्र, चार हात भएकी स्कन्दमाताले स्कन्द कुमारलाई जन्म दिनु भएकीले स्कन्दमाता भनिएको हो । स्कन्दमाताको शस्त्र अस्त्र भनेकै कमलको फूल हो ।

६) कात्यायनी  :
नवरात्रीको आश्विन शुक्ल षष्ठीका दिन श्री नवदुर्गा भगवतीको छैठौं शक्तिको रुपमा रहेकी कात्यायनी भगवतीको ठूलो महिमा छ । श्री कात्यायनी भगवतीको तीन नेत्र र आठ हात छन । कमलको फूल र तरवार नै कात्यायनीको शस्त्र अस्त्र हुन् । यो दिन कात्यायनी भगवतीको साधना गर्दा साधकको मन आज्ञा चक्रमा बस्छ । यी भगवतीलाई मोक्ष प्राप्तिका लागि उपासना गरिन्छ ।

७) कालरात्री :
नवरात्रीको सप्तमीका दिन श्री नवदुर्गाको सातौं शक्तिको रुपमा प्रादुर्भाव भएकी श्री कालरात्री भगवतीको पूजा गरिन्छ । देवीको शरीर गाजल जस्तै चिल्लो र ज्यादै कालो रंग हुन्छ । तीन नेत्र बिजुली चम्के झैं ज्योति निस्किरहेको हुन्छ । नाकको प्वालबाट आगोको ज्वाला जस्तै श्वास–प्रश्वास निस्किरहेको हुन्छ भने दाँत किटिकिटि चपाइरहेकी हुन्छे । कपाल फहराईरहेको हुन्छ भने घाँटीमा बत्तिको जस्तै चमक भएको माला लगाइ रहेकी हुन्छे । बाघको छाला बेरेर नाङ्गो उभिएकी भयङ्गर रुप धारण गरीरहेकी श्री कालरात्री भगवतीले गधा चढिरहेकी हुन्छे ।

८) महागौरी :
नवरात्रीको आश्विन शुक्ल अष्टमीका दिन श्री महागौरी भगवतीको आराधना गरिन्छ । यो अष्मटमीलाई महाअष्टमी पनि भनिन्छ । महागौरी भगवतीको शरीर दुध जस्तै सेतो हुन्छ । देवी भागवतमा महागौरीको वर्णन आठ वर्षकी बालिकाको रुपमा गरिएको छ । सेतो वस्त्र लगाई सेतै गहना लगाइएकी सेतो साँढे चढेकी हुन्छिन् । महागौरीको चार हातको दाँया तर्फ अभय मुद्रा र त्रिशुल हुन्छ भने बाँयातर्फ डमरु र वर मुद्रा रहेको छ । महागौरीको स्वरुप अत्यन्तै शान्त र सौम्य रहेको छ । अम्बिका भगवती अत्यन्त सेतो वर्ण भएकी पार्वती रुप धारणा गरी आठ वर्ष भएदेखि नै महादेवलाई पतिको रुपमा प्राप्त गर्न हिमालय पर्वतमा कठोर तपस्या गरेकी हुन् ।

९) सिद्धिदात्री  :
नवरात्रीको आश्विन शुक्ल नवमीका दिन श्री नवदुर्गा नवौं रुपमा प्रादुर्भाव भएकी शक्ति स्वरुपाकी नाम हो सिद्धिदात्री । यो नवमीलाई महानवमी पनि भनिन्छ । देवी पुराणका अनुसार महादेवले भगवती देवीको आराधना गरेर सिद्धि प्राप्त गरेकीले सिद्धिदात्री भनिएको हो । श्री सिद्धिदात्री सून जस्तै चम्केर सौन्दर्यमयी भई सदा सौम्य र शान्त मुद्रामा बस्नु हुन्छ । चारहातमा शंख, चक्र, गदा र कमलको फूल धारण गरेकी, रातो वस्त्र पहिरिएर कमलको फूलमा बसेर सिंहमा आरुढ गरिरहेकी हुन सिद्धिदात्री ।

अष्टमातृकाका नवौं शक्तिको रुपमा प्रादुर्भाव भएकी श्री सिद्धिदात्री भगवती नवदुर्गा भवानीको प्रमुख शक्तिको रुपमा श्री त्रिपुरा सुन्दरीको रुप धारण गर्छिन् । विशेष गरेर महानवमीका दिन घरै पिच्छे आगममा अष्टमातृका देवीको आह्वान गरेर श्री महात्रिपुरा सुन्दरी स्वरुपिणी श्री महासिद्धिदात्री भगवतीको आराधना गरिन्छ ।

दशैंको नवरात्रीभरै पूजा गरिने विभिन्न देवीको शक्ति रुपहरुको आ–आफ्नै पहिचान र विशेषता हुन्छ । विभिन्न विशेषतामा पनि भगवती देवीका अनेक रुपमा एउटै सार भनेको असत्य माथि सत्यको विजय, अन्याय उपर न्यायको विजय र असुर उपर सुरको विजय नै हो । हरेक बर्ष प्रतिकात्मक आराधनाका लागि दशैं चाड मनाउने गरिन्छ ।