• मंसिर १२ २०८१, बुधबार

घटस्थापना गर्ने विधि

आश्विन २८ २०८०, आईतवार

आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । घटस्थापनाको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले सो दिनलाई घटस्थापना भन्ने गरिएको हो । सो दिन

लिपपोत गरी चोख्याइएको शुद्ध स्थान अथवा मंदिरमा घटस्थापना गर्नुपर्छ । प्रारंभमा दीप–कलश–गणेश पूजन गरी माटो वा बालुवामाथि भगवती दुर्गाको आवाहन गर्न जौ, गहुँ आदि छरी त्यसको बीच भागमा भगवती दुर्गाको घडा (कलश) स्थापना गर्नुपर्छ । थालीमा देवीयन्त्र वा अष्टदलकमल बनाई दुर्गायन्त्र बनाएको थालीलाई घडामाथि राखेर त्यसमा सुनको, चाँदीको वा अन्य कुनै धातुनिर्मित देवीप्रतिमालाई प्राणप्रतिष्ठा गरी स्थापना गरेर आवरण पूजासहित भगवती दुर्गाको पूजा प्रारम्भ गर्नुपर्छ ।

यसै विधिलाई घटस्थापना भनिन्छ । यसपछि भगवती दुर्गाको जप, सप्तशती पारायण गर्ने गरिन्छ । यो शक्तिको उपासना गर्ने विशेष अवसर भएकाले श्रीमद्देवीभागवतको अनुष्ठान पनि प्रारम्भ गर्न सकिन्छ । नवकन्यामध्ये प्रथम कन्याको पूजा, शैलपुत्री भगवतीको विशेष पूजा तथा दर्शन आदि गरिन्छ । यही दिन सामाजिक तथा राष्ट्रियस्तरमा पनि देवीको मूर्ति स्थापना गरी दुर्गा भवानीको आराधना गरिन्छ ।