इजरायल । शुक्रबार साँझ उत्तरी गाजाबाट निस्किएको प्यालेस्टिनी नागरिकको लस्करमा इजरायली सेनाले हमला गरेको छ । बीबीसीका अनुसार यो हमला सलाह-अल-दिन सडकमा भएको बताएको हो ।
यो उत्तरी गाजाबाट दक्षिणतर्फ जाने दुईवटा निकासी मार्गहरू मध्ये एक हो, जसबाट नागरिकहरू हिँडिरहेका छन् । इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने सर्वसाधारणलाई अपराह्न ४ बजेसम्म इलाका खाली गर्न भनेको थियो ।
त्यसपछि यी रुटहरूमा भीड लागेको थियो । शुक्रबारको सर्वसाधरणमाथि भएको आक्रमणपछि उपलब्ध फुटेजमा कम्तीमा १२ जनाको शव देखिन्छ । जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।
बालबालिका, जसमध्ये केही दुईदेखि पाँच वर्षका बीचका देखिन्छन् । फुटेजमा देखिने मानिसको छायाँबाट स्थानीय समय अनुसार साँझ ५ः३० बजे रेकर्ड गरिएको देखिन्छ । तिनीहरूमध्ये धेरैजसो फ्ल्याटबेड ट्रकको पछाडि लडिरहेको देखिएको छ । अरूहरू सडकमा यता-उता छरिएका छन् ।
केही क्षतिग्रस्त सवारीसाधन पनि देखिन्छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यस घटनामा ७० जनाको मृत्यु भएको र यसको पछाडि इजरायलको हात रहेको बताएको छ । इजरायलको रक्षा बलले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।