काठमाडाैं । नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले सुन तस्करीको नाका परिवर्तन भइरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले नाका परिवर्तन भइरहेकाले नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा रहेको बताए । उनले स्वीस बैंकमा नेपालीको ४६ अर्ब सम्पत्ति रहेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले राज्य व्यवस्था समितिको बैठकमा हङकङ र सिंगापुरमा भ्रष्टाचारको डिल हुने गरेको बताएका थिए । सांसद केसीले स्वीस बैंकमा रहेको पैसा त्यही हो भनेर प्रश्न गरे ।
‘हङकङ र सिंगापुरमा भएको डिलको पैसा हो ? यो खोज्नुपर्ने हामी सबैको दायित्व हो । हामी सांसदहरूको पनि दायित्व हो,’ उनले भने ।