• फाल्गुन २६ २०८२, मंगलवार

हमास-इजरायल द्वन्द्व साम्य पार्न राष्ट्र संघीय सुरक्षा परिषदको बैठक बस्दै

आश्विन २५ २०८०, बिहीबार

काठमाडौं । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी रहेको द्वन्द्वबारे छलफल गर्न शुक्रबार पुनः संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्ने भएको छ । आइतबार बसेको बैठकमा इजरायल र प्यालेस्टाइनका विषयमा सुरक्षा परिषदका सदस्यहरू विभाजित थिए ।

हमास नियन्त्रित क्षेत्र गाजामा इजरायली हवाई आक्रमणमा परी १२ सय मानिसको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले बताएका छन् । हमासको आक्रमण परी ज्यान गुमाउनेको संख्या इजरायलमा समेत १२ सय नाघेको जनाएको छ ।
गाजाबाट विस्थापित हुनेको संख्या तीन लाख ३८ हजार पुगेको राष्ट्रसंघले जनाएको छ । यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिेन्केनले बिहीबार इजरायलको भ्रमण गर्दैछन् । उनले प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बाससँग पनि भेट गर्ने बताइएको छ ।

राष्ट्रपति अब्बास हमाससँग जोडिएका छैनन् । उनले वेस्ट बैंकमा फतह ‘मुभमेन्ट’ नेतृत्वको सरकार चलाएका छन् । हमासले गाजापट्टीमा शासन गर्दै आएको छ ।

इजरायलले गाजातर्फ औषधि, खाना, इन्धन, पानी, बिजुलीलगायत सामग्रीको आपूर्ति बन्द गरेको छ । गाजाको एक मात्र विद्युत केन्द्र बन्द भएको छ । अमेरिकाले इजरायल, राष्ट्रसंघ र इजिप्टसँग केही सहायता पठाउन र स्थानीय बाहिर निस्कने व्यवस्थाका लागि छलफल गरिरहेको बताइएको छ ।