कोशी प्रदेशमा मुख्यमन्त्री फेरिइरहने प्रक्रिया जारी छ । उही कुरा नियमित आकस्मिकताका रूपमा दोहरिइरहेको छ । कहिले सत्ताधारी गठबन्धनले प्रादेशिक सरकार निर्माण गर्छ त कहिले प्रतिपक्षले !
कोशी प्रदेशको मुख्यमन्त्री बनाउने प्रक्रिया एका देशमा एउटा राजाले आफ्नी छोरी राकुमारीको बिहे गरिदिने वाचा गरेर कार्यक्रम आयोना गरेझैं हुन गएको छ ।
वाचा अनुसार राजाले जसले कहिल्यै टुङ्गो नलाग्ने कथा सुनाउन सक्छ, उसैसँग राजकुमारीको विवाह गरिदिने वचन जारी गरेका हुन्छन् । जो कोही पनि जब दरवारमा अन्त्यहीन कथा सुनाउन पुग्छन्, उनीहरूको कथा कतै न कतै टुङगिइहाल्छ ।
यसपछि राजा अवाक हुन्छन् । उनको वाचाले हावा खाने अनुमान भाइभारदारहरूले लगाउँछन् । रानी खिन्न अवस्थामा दरवारमा बसिरहेकी हुन्छिन् । सुसारेहरूको अनुहारमा बादल छाएको हुन्छ ।
राजकुमारी पनि आफ्नो विवाह नहुने हो कि भनी निकै चिन्ता लिन थाल्छिन् । यसै बेलामा एकजना कथा सुनाउन दरवार आइपुग्छ । ती युवालाई राजाले ‘के तिमी त्यस्तो कथा सुनाउन सक्छौ, जो नटुङ्गिएर निरन्तर अघि बढिरहन्छ ?’
राजाको प्रश्न सकिन नपाउँदै युवा बोल्छन्, ‘हो, सरकार ! मेरो कथा निकै छोटो छ, तर कहिल्यै टुङ्गिँदैन ।’ राजा आश्चर्यमा पर्छन् । ती युवालाई दरवारको पटाङ्गिनीमा कथा भन्न लगाइन्छ । युवा कथा भन्न थाल्छन् :
एका देशमा एउटा कोशी नदीजस्तै ठूलो नदी थियो । एक दिन त्यो नदीमा डरलाग्दा ठूल्ठूला छाल उठेर किनारासम्म आए । फेरि क्षणभरमै फर्किए । छाल आउँदा वेगसँग आयो, मानिस डुबाउने गरी अग्लो अग्लो भएर आयो ।
त्यो छालले माछा, गँगटा, कीरा तथा अन्य खाने कुरा बगरमा ल्यायो । छाल फर्कने बित्तिकै रूखमा बसेका चरा भुर्र उडेर बगरमा छालले छाडेका माछासहितका सबै कुरा टिप्न र खान थाले ।
त्यसैबेला फेरि छाल आयो, चरा भुर्र उडेर रूखमा बसे । छाल किनाराका ठूला ठूला चट्टानमा ठोकिएर फर्कियो । माछासहितका खानेकुरा बगरमा छाडेर गयो । चरा भुर्र उडेर बगरभरि बसे । चारो खान थाले ।
फेरि छाल आयो । चरा भूर्र उडेर रूखमा गए । छाल ठूला ठूला चट्टानमा ठोकिएर फर्कियो … … ।
राजा एक्कासी चिच्याए– ‘अनि के भयो, उही कुरा दोहर्याएर कथा बन्छ ? अनि के हुन्छ भन् … … । उही कुरा दोहर्याएर गन्तव्यविहीन बनाउन पाइँदैन । भन् तुरन्त भन् … … ।
युवक बोल्यो, ‘महाराज ! छाल फर्किएपछि चराहरूले फेरि बगरमा गएर माछा, गङ्गटा र कीरा खानथाले । त्यसैबेला फेरि छाल आयो ।’
राजा चिच्याए, ‘त्यही नभन् तर कथा भन् ।’ युवाले विनम्रताका साथ भने, ‘हो सरकार ! त्यसैबेला फेरि छप्प छाल आयो, चरा भूर्र उडे … … ।’
एका देशमा भएको यही कथाको पुनरावृत्ति कोशी प्रदेशमा भएको छ । कोशी प्रदेशमा १० महिनामा पाँचौपटक मुख्यमन्त्री फेरिने भएका छन् । कोशी प्रदेशमा चौथोपटक मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले राजीनामा दिएसँगै पाँचौं मुख्यमन्त्रीको हानथाप सुरू भएको छ ।
फेरि छाल आएर बगरभरि माछा, कीरा र गङ्गटा थुपारेको छ । कोशी प्रदेश सभाका सांसदहरू बुर्लुक्क बुर्कुसी मारेर खान जाँदैछन् ।
कोशी प्रदेशमा कुल ९३ जना सांसद छन् । तीमध्ये नेकपा एमालेका उपसभामुखसहित ४० जना, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
कुल सांसद सङ्ख्यामा बहुमत सिद्ध गर्नका लागि ४७ सदस्य आवश्यक पर्छ । गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा जोड्दा ४७ सदस्य पुग्छ । तर परिणाम हेर्न बाँकी छ ।
प्रदेश सरकारको दोस्रो कार्यकालको निर्वाचनसँगै २४ पुस २०७९मा आह्वान गरिएको पहिलो प्रदेश सभाबाट २४ पुसमा संविधानको धारा १६८ (२) अनुसार एमालेका कार्की पहिलो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
तर नामविहीन अवस्थामा रहेको तत्कालीन प्रदेश १ को नाम कोशी राखिँदा विवाद सिर्जना भएपछि कार्की नेतृत्वको प्रदेश सरकारबाट माओवादी र जसपा बाहिरिँदा कार्की सरकार ढलेको थियो ।
कार्की नेतृत्वको सरकार ढलेपछि २१ असारमा तत्कालीन सभामुख बाबुराम गौतम समेतको हस्ताक्षरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा कोशी प्रदेश सरकार निर्माण भयो ।
एमालेले उक्त सरकार गठनमा उपसभामुखको हस्ताक्षर रहेको कुरा उठाएर प्रदेश सरकार असंवैधानिक रहेको रिट सर्वोच्चमा दायर गर्यो। तदनुसार ११ साउनमा सर्वोच्चले थापा सरकारलाई असंवैधानिक ठहर गरी पदमुक्त गर्यो।
अनि १७ साउनमा कुल ९३ मध्ये ४७ सांसद अर्थात् बहुमत सदस्यको हस्ताक्षरमा कांग्रेसका उनै थापा मुख्यमन्त्री बने । तर सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर हस्ताक्षर गर्न लगाई थापा मुख्यमन्त्रीमा नियुक्त गरिए ।
मुख्यमन्त्री नियुक्त भएपछि थापाले ४ भदौमा लिएको विश्वासको मत प्रदेश सभामा सभामुख नभएको अवस्थामा लिएकाले मुख्यमन्त्रीको नियुक्ति असम्वैधानिक भन्दै संविधानको प्रावधान लत्याएको उल्लेख गरी एमालेले पुनः सर्वोच्चमा मुद्दा हाल्यो । उपसभामुख एमालेकी सिर्जना दनुवार बिरामीका कारण उसै दिन काठमाडौं हिँडेकीले यो समस्या सिर्जना हुन गएको थियो ।
यस पटक विश्वासको मत लिँदा प्रदेश सभाको अध्यक्षता ज्येष्ठताका आधारमा गरिएको थियो । नेपाली कांग्रेसका सांसद मन्सुरीले सभाको अध्ययक्षता गरेका थिए । तर उनैले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि ६ भदौमा एमालेले पुनः सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
सर्वोच्च अदालतले सभाध्यक्षको मतलाई अस्वीकार गरेसँगै सर्वोच्चकै परमादेश आदेशले तत्कालीन मुख्यमन्त्री थापा पदमुक्त गरिँदाका बखत सर्वोच्चकै परमादेशको आदेशले एमालेका कार्की फेरि मुख्यमन्त्रीमा नियुक्त हुन पुगेका थिए ।
तर मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समयमा विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उक्त पदबाट राजीनामा दिइ सरकारबाट बाहिरिएका थिए ।
यो सबै प्रक्रिया हेर्दा कोशी प्रदेशमा कसैको पनि ‘भ्यागुताको धार्नी’ पुग्ने देखिदैन । यहाँ ‘छ्याप्प छाल आयो, चरा भूर्र उडे’ भन्ने कथा नै सार्थक हुने देखिएको छ । यसको विकल्प भनेको विश्लेषकहरूले भने झैं मध्यावधि निर्वाचन नै देखिन्छ ।