• फाल्गुन ३० २०८२, शनिबार

गण्डकी प्रदेशका ११ जिल्लामा समाजवादी मोर्चाको सन्देशसभा

आश्विन २३ २०८०, मंगलवार

कास्की । समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ । मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई जनाको प्रतिनिधित्व हुने गरी असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी सन्देशसभा गर्ने निर्णय गरेको हो ।

समाजवादी मोर्चामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । जिल्लास्तरीय सन्देशसभाको व्यवस्थापनका लागि गोरखा, स्याङ्जा, म्याग्दी र मनाङको जिम्मेवारी माओवादी केन्द्रलाई दिइएको छ ।

यसैगरी कास्की, मुस्ताङ र पर्वत एकीकृत समाजवादी, नवलपुर र लमजुङ जनता समाजवादी पार्टी तथा बागलुङ र तनहुँ जिल्लाको सन्देशसभा व्यवस्थापनको जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीलाई तोकिएको मोर्चाका प्रदेश संयोजक एवं नेकपा (माओवादी केन्द्र)गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताए ।

उनका अनुसार बैठकले मोर्चाका शीर्ष नेताहरूको उपस्थितिमा गत भदौ १५ गते पोखरामा आयोजना गरिएको प्रदेशस्तरीय सन्देशसभाको समीक्षालगायतका विषयमा छलफल गरिएको छ ।