काठमाडौं । पूर्व खानेपानी मन्त्रीसमेत रहेका सांसद अब्दुल खानले मदरसा शिक्षालाई आधुनिक शिक्षामा राख्न माग गरेका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा जनमत पार्टीका सांसद खानले सरकारले संसद्मा ल्याएको शिक्षा विधेयकमा मदरसा शिक्षालाई परम्परागत शिक्षामा राखेको विषयमा विमति जनाए ।
‘सरकारले संसद्मा ल्याएको शिक्षा विधेयकमा मदरसा शिक्षालाई परम्परागत शिक्षामा राखेको छ, यो उचित छैन,’ खानले भने, ‘मदरसा शिक्षालाई आधुनिक शिक्षामा राखियोस् । म जोडदार माग गर्दछु ।’
मुस्लिम आयोगका अनुसार मदरसा धार्मिक र सांस्कृतिक शिक्षा प्रदान गर्ने मुस्लिम समुदायको सबैभन्दा विश्वसनीय शैक्षिक संस्था हो । मुस्लिम आयोगले २०७८ सालमा प्रकाशित गरेको एक अध्ययन प्रतिवेदन अनुसार नेपालमा एकहजार १९७ वटा मदरसा दर्ता भएका छन् ।