• असार ४ २०८२, बुधबार

एमाले र माओवादीबीच पार्टी एकता वा सहकार्यको सम्भावना छः वर्षमान पुन

आश्विन २० २०८०, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन्।

राजधानीमा शनिबार आयोजित माओवादी जनयुद्धका सहिद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरुको सम्मान कार्यक्रममा बोल्दै पुनले विगतको जरा एउटै भएको र कयौं रानजीतिक अजेण्डामा समानता भएका दुई पार्टी कुनै पनि बेला मिल्न सक्ने बताएका हुन्।

उनले फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे।

‘हिजो हामीले नेकपा बनायौं। यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला। फेरि पनि कम्युनिष्ट पार्टीहरु मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्ध या संयुक्त सरकार कुनै पनि रुपमा जाने सम्भावना छ,’ पुनले भने, ‘म कमरेड केपी ओली र एमालेका नेताहरुलाई भन्न चाहन्छु धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस्। हामी त्यसलाई अस्वीकार गर्दछौं।’

पुनले दुई जना जनताका छोराछोरीलाई राष्ट्रपति र ओली स्वयंलाई दुईपटक सम्म प्रधानमन्त्री बनाएको नबिर्सन आग्रह गरे। पुनले तत्कालीन नेकपाको राजनीतिक प्रतिवेदनमा आफूहरुले तत्कालीन मालेले झापा आन्दोलन हुँदै एमालेमा भएको रुपान्तरण, शान्तिपूर्ण संघर्ष र संसदीय अभ्यासका क्रममा हासिल गरेका शिक्षा तथा अनुभवको स्वामित्व आफूहरुले लिएको र माओवादी जनयुद्धको स्वामित्व तत्कालीन एमालेले लिएको तथ्य जगजाहेर रहेको स्मरण गराए।