काठमाडौँ । सरकारले तेजाब तथा घातक रासायनिक पदार्थको उत्पादन तथा बिक्री वितरणका लागि मात्रै नभइ प्रयोग गर्न पनि अनुमति लिनुपर्ने भएको छ।
बिहीबार सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन २०७९ लाई कार्यान्वनय गर्न जारी गरेको नियमावलीमा प्रयोगकर्ताले पनि अनुमति लिनुपर्ने व्यवस्था गरेको हो। तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावलीले मासिक एक लिटर वा एक किलोग्रामभन्दा बढी घातक पदार्थ प्रयोग गर्नेले अनुमित लिनुपर्ने भएको हो।
नियमावलीको नियम ९ मा उल्लेख गरिएको छ, ‘तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कशप, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यवसायिक काम गर्ने फर्म, कम्पनी, वा व्यक्तिले मासिक एक लिटर वा एक किलोग्रामभन्दा बढी तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोग गर्नुपर्ने भएमा…।’
नेपालमा घातक खालको तेजाब पदार्थको ओसारप्रसार र प्रयोग खुलमखुला हुने र त्यसबाट सर्वसाधरणलाई असर गर्न थालेपछि गत संसदले ऐन बनाएको थियो।
किशोरीहरुमाथि तेजाब आक्रमण गर्ने क्रम बढेपछि छुट्टै कानुनमार्फत नियमन गर्न सरकारले विधेयक ल्याएको थियो। तेजाब तथा घातक रासायनिक पदार्थको उत्पादन गर्न चाहने व्यक्ति, कम्पनी वा फर्मले गृहमन्त्रालयबाट अनुमति लिनुपर्नेछ।