• मंसिर १४ २०८१, शुक्रबार

राष्ट्र बैंकका कर्मचारीको भत्ता साढे १८ प्रतिशतले बढाउने तयारी

आश्विन १९ २०८०, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले कर्मचारीहरुको भत्ता बढाउने तयारी गरेको छ ।

कर्मचारी युनियनले तलब तथा भत्ता बढाउन दबाब दिएपछि राष्ट्र बैंकको सञ्चालक समितिले सरकारको नीति अनुसार तलब बढाउन नमिल्ने भन्दै भत्ता बढाउन लागेको हो ।

‘कर्मचारी युनियनसँग नेगोसिएशन भइरहेको छ,’ राष्ट्र बैंकका एक सञ्चालकले भने, ‘हामी १८.६ प्रतिशतले भत्ता बढाउने तयारीमा छौं ।’ कर्मचारीको भत्ता बढाउने प्रस्ताव बिहिबार नै सञ्चालक समितिमा पेश भइसकेको छ।

खर्च कटौति गर्ने सरकारको नीति भएपनि दुई वर्षदेखि तलब भत्ता नबढेकाले भत्ता बढाउन दबाब परेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । राष्ट्र बैंक कर्मचारीलाई राम्रो सेवा सुविधा दिने संस्थामा अग्रस्थानमा पर्छ ।

राष्ट्र बैंकमा ११०० को हाराहारीमा कर्मचारी छन् । १९५६ मा राष्ट्र बैंक स्थापना हुँदा गर्भरसहित जम्मा २३ जना कर्मचारी थिए । त्यो संख्या निरन्तर बढेर १९८८ मा सबैभन्दा बढी अर्थात् ३३०८ जना पुगेको थियो । त्यसयता लगातार घटिरहेको छ । सन् २०१८ मा ९५१ जना कर्मचारी रहेको राष्ट्र बैंकमा सन् २०२२ मा १०८२ जना पुगेको छ ।

सन् १९५६ मा जम्मा ६ जना अफिसर र १६ जना गैरअफिसर कर्मचारी थिए । अहिले ५६३ जना अफिसर र ५२५ जना गैरअफिसर छन् ।