काठमाडौं । बझाङ केन्द्रबिन्दु भइ मंगलबार गएको भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त बनेका निजी घरका बासिन्दालाई सरकारले तत्कालका लागि राहतस्वरुप ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।
शुक्रबार भूकम्प प्रभावित बझाङ जिल्लाको अवलोकन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन्।
यसअघि बस्दै आएको घर भत्किएर घरविहीन भएका परिवारलाई तत्काल अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराइने प्रधानमन्त्रीले उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरुप परिवार संख्याका आधारमा, मापदण्ड बमोजिम १५ देखि २० हजार रुपैयाँ तत्काल राहतस्वरुप व्यवस्था गरिने पनि बताए।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रका नागरिकका लागि आवश्यक पर्ने राहत सामग्री (त्रिपाल, कम्बल, लत्ताकपडा, खाद्यान्न, औषधि) तथा अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गरिएको जानकारी दिए। थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा आवश्यक व्यवस्था गरिने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।
प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण घाइते भएकाहरुको नि:शुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए। साथै, भूकम्पका कारण पहिरो जाँदा ज्यान गएमाकाका परिवारलाई २ लाख रुपैयाँ प्रदान गरिने पनि प्रधानमन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले बझाङ भूकम्पका कारण भत्किएका, चिरा परेका र आंशिक क्षति भएका घर तथा संरचनाको दीर्धकालीन पुनर्निर्माण र पुनर्स्थापना गरिने बताए। त्यसका लागि स्थानीय तह, जिल्ला र प्रदेशबाट प्राप्त क्षति मूल्याङ्कनका आधारमा कार्यविधि बनाइ यसअघि (२०७२ सालको) भूकम्पले क्षतिग्रस्त बनेका संरचनाको पुनर्निर्माण गरिए जस्तै स्थानीय सामग्रीहरुको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ छ।