• असार ४ २०८२, बुधबार

अपराध ठहर भएर सजाय भोगिरहेकालाई दिइने माफीमा अदालतको प्रवेश स्वागतयोग्य : शर्मा

आश्विन १८ २०८०, बिहीबार

काठमाडौँ  । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अपराध ठहर भएर जेलमा सजाय भोगिरहेकाहरूलाई दिइने आममाफीमा अदालतको प्रवेश स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।

व्यक्ति हत्या अपराधमा दोषी ठहर भई जेल बसिरहेका बाँकेका योग ढकाल (रिगल) को कैद मिनाह गरेको प्रकरण अदालत पुगेको छ । रिगलले हत्या गरेका बाँकेका चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ भएर प्रारम्भिक आदेशसमेत आएको छ ।

सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । साथै माफीको कानुनी प्रश्नको निरुपणका लागि पूर्ण इजलासमा सुनुवाइ गर्ने आदेश गरेको छ ।

सर्वोच्चको यो आदेशपछि शर्माको प्रतिक्रिया आएको हो । उनले विसंगतिविरुद्ध नविन बहस भएको समेत बताएका छन् । बुँदागत रुपमा उनले यो प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

विसंगतिविरुद्ध नविन बहस  
१ लोकतन्त्रमा धब्बा लाग्ने कुनै पनि निर्णय बदरभागी हुनुपर्छ भन्ने विषय लोकको मतमात्रै होइन, मानवीय भावको अपेक्षा र सुशासनको माग पनि हो ।

२ सकारात्मक आदेशमार्फत अदालतले नकारात्मक कर्महरू नियन्त्रणमा (रचनात्मक हस्तक्षेप) गर्नसक्छ । नकारात्मक आदेशले त्यसलाई वैधता त दिन्छ नै, निरन्तरतालाई प्रोत्साहित समेत गर्नेछ ।

३ संविधान र कानुनको व्याख्याको अधिकार अदालतमा हुनुलाई प्राविधिक होइन प्राज्ञिक कोणबाट हेरिनुपर्छ । सजाय मिनाह, सजाय अवधि कटौती, आममाफी जस्ता कानुनी प्रावधान लोकतन्त्र बदनाम तुल्याउन दुरुपयोग भएका छन् । अदालतको आदेशले नविन नजिर स्थापित गर्ने सकारात्मक अपेक्षामा छ देश  ।

४ मुद्दा चलिरहँदा योभन्दा बढी नबोलौं । आगे अदालतकै मर्जी ।