• असार ४ २०८२, बुधबार

माओवादीले नै पार्टी एकता गर्न चाहेको छैन : डा. बाबुराम भट्टराई

आश्विन १८ २०८०, बिहीबार

काठमाडौँ । बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रले नै एकता गर्न नचाहेको आरोप लगाएको छ । पार्टी कार्यालय कोटेश्वरमा सोमबार र मङ्गलवार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकका निणर्य बिहीबार सार्वजनिक गर्दै सो पार्टीले उक्त आरोप लगाएको हो ।

एकताका लागि नेसपाले पठाएको ९ बुँदे प्रस्तावमाथि माओवादी नेतृत्वले छलफल गर्नै नचाहेको आरोप लगाएको छ ।

‘माओवादीले समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अङ्क गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृत्ति देखाइरहेको छ’ विज्ञप्तिमा उल्लेख छ । ‘हामीले नेकपा (माओवादी केन्द्र)सँग गत संसदीय र प्रादेशिक निर्वाचनको बेलादेखि सहकार्य गर्दै नयाँ आधारमा नयाँ समाजवादी केन्द्र निर्माणका निम्ति वार्ता प्रक्रिया सुरु गरेका थियौँ । त्यस क्रममा हामीले नयाँ युगको नयाँ समुन्नत समाजवादी पार्टीको विचार, नीति, कार्यक्रम, सङ्गठनात्मक सिद्धान्त, कार्यशैली सहितको नौ बुँदे पार्टी एकताका आधार सम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरेका थियौँ । परन्तु माओवादी केन्द्रको नेतृत्वले त्यो महत्त्वपूणर् नौ बुँदे प्रस्तावमाथि छलफल नै गर्न नचाहेको र सिद्धान्तनिष्ठ नयाँ समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अङ्क गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृत्ति देखाइरहेको छ । हाल माओवादी केन्द्रको नेतृत्वले हाम्रो पार्टीका एक अध्यक्षलाई पठाएको पत्रले पनि रूपान्तरणसहितको समाजवादी ध्रुवीकरण भन्दा दाउपेचको राजनीति मात्रै गर्न खोजिरहेको झल्को दिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।