• असार ४ २०८२, बुधबार

त्रिविको वरियता खस्किएपछि गुनासो

आश्विन १८ २०८०, बिहीबार

काठमाडौं । दिनप्रतिदिन खस्कँदै गइरहेको त्रिभुवन विश्वविद्यालयले टाइम्स हाइयर एजुकेसनले तय गरेको विश्व वरियतामा स्तर खस्केपछि भने चासो देखाएको छ।

पाँच वर्षदेखि विश्वका उत्कृष्ट हजार विश्वविद्यालयको सूचीमा परेको त्रिवि सन् २०२४ मा भने १२०० देखि १५०० भित्र परेको छ।

स्तर खस्किएपछि त्रिविले कसैको हस्ताक्षरबिना निकालेको विज्ञप्तिमा गुनासो पोखेको हो। त्रिवि रजिष्टार कार्यालयको विज्ञप्तिमा त्रिविले समग्र विश्वविद्यालयको स्तर मापनका विभिन्न सूचकहरुमा निरन्तर सुधार भएको दाबी गर्दै मापदण्डमा हेरफेरका कारण आफ्नो वरीयता तल झरेको दाबी गरेको छ।

टाइम्सकै अर्को प्रतिवेदनमा त्रिवि एशियाका विश्वविद्यालयहरूमा गत वर्षकै २५१ देखि ३०० को वरियतामा रहेको पनि त्रिविले उल्लेख गरेको छ। सेमेस्टर प्रणालीमा समेत ९ महिनामा परिणाम निकाल्ने र वार्षिक प्रणालीका नतिजा एक वर्षभन्दा ढिलो निकाल्ने त्रिवि यो वरियतामा पर्नु नै अचम्मको कुरा रहेको एक प्राध्यापक बताउँछन्। समयमा परीक्षा नगर्नु र दरबन्दीअनुसार शिक्षक नभएका कारण पनि त्रिवि साँच्चिकै खस्किएको ती प्राध्यापक बताउँछन्।

टाइम्समा प्रतिस्पर्धा गर्न दुई वर्षअघि त्रिविले तीन सदस्यीय सुझाव कार्यदल बनाएको थियो । त्रिविले पछिल्लो २ वर्षदेखि सोही कार्यदलको सुझाव अनुसार टाइम्समा विवरण पठाउँदै आएको छ।

त्रिविका ९ अध्ययन संस्थान तथा संकायमा करिब ४ लाख विद्यार्थी अध्ययनरत छन् भने यसका ४ वटा अनुसन्धान केन्द्र छन्।