• असार ४ २०८२, बुधबार

बझाङ भूकम्पपछि राष्ट्रिय विपद् व्यवस्थापनको बैठक बस्दै

आश्विन १८ २०८०, बिहीबार

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक आज बस्दैछ। बैठक बिहान ८ बजे सिंहदरबारस्थित विपद् व्यवस्थापन प्राधिकरणको कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्राधिकरणको बैठक बोलाएका हुन्।

बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनः स्थापनालगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले बुधबार बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए ।

बझाङ केन्द्रबिन्दु भएर ​मंगलबार अपराह्न २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ। भूकम्पबाट बझाङ, र बाजुरामा घर, विद्यालयलगायत भौतिक संरचनामा क्षति पुगेको छ।