• आश्विन १३ २०८१, आईतवार

गाडीमा यात्रा गर्दा बान्ता आउँछ ? यस्ता छन् बान्ता रोक्ने उपाय

आश्विन १७ २०८०, बुधबार

सवारी साधन खासगरि बसमा यात्रा गर्दा रिंगटा लाग्ने र बान्ता हुने समस्या धेरै मानिसहरुको हुनेगर्छ । कतिपय मानिस त झन् बान्ता भएकै कारण बिरामी समेत हुन्छन् । कोही मानिसमा यात्रामा निस्कन साथ बान्ता गर्न थाल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा यो समस्या देखापर्छ । बान्ता हुनु आफैमा एक कष्टकर क्षण हो ।

शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ तर यो समस्याको पनि समाधान छ । यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ-आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात् यात्राजन्य बान्ता उत्पन्न हुन्छ ।

मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक-फरक हुन्छ । तर यो समस्यालाई घरेलु उपायबाट पनि समाधान गर्न सकिन्छ । हेर्नुहोस् हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटी जसले बान्ता हुनबाट बचाउँछ ।

१. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ ।

२. ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि धेरैलाई बान्ताको समस्या समाधान भएको छ ।

३. जामुन : जामुनको फल तथा यसका पातहरुमा बान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको बीचमा अलि-अलि रस पिउँदा पनि बान्ता हुँदैन । साथै जामुनको फल नै फलफूलका रुपमा प्रयोग गर्न सकिन्छ ।

४. आँप : काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ । त्यही आँपको पातले बान्ता रोक्ने काम गर्दछ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर बीचमा पिउने गर्नुपर्दछ ।

५. सौंफ : सौंफले पनि बान्ता रोक्ने काम गर्दछ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि बान्ता हुँदैन ।

६.अदुवा : रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा बान्ता रोक्ने औषधीय गुण हुन्छ । अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ । यसैगरी फलफूलका रुपमा प्रयोग हुने दाडिम (अमिलो अनार), बयर, बिमिरो आदि यात्राका क्रममा पटक-पटक खाँदा पनि ‘मोसन सिकनेस’ कम गर्न सकिन्छ ।

७. उत्सुकता : कायम राख्ने यात्राका बेला अब के आउँला कस्तो ठाउँ आउला भनेर बाहिरी वातावरण नियालेको खण्डमा पनि बान्ता आउँदैन । बान्ता हुने व्यक्तिले जहिल्यै पनि अगाडी हेर्नुपर्छ ।

८. बान्ता धेरै हुनेले नाईटोमा हेण्डिप्लास्टलाई क्रस बनाएर लगाउँदा पनि सहज भएको अनुभव सुनाएका छन् ।

९. कतिपयलाई भोको पेटमा वाकवाकी लाग्ने भएकोले यात्राको दौरानमा पेटभरी खाएर हिँड्नुपर्छ भने कतिपयलाई एकदमै हलुका खानेकुरा मात्रै खानुपर्छ ।

१०. सवारीको गन्ध, सवारीले फालेको धुँवाको कारण पनि वाकवाकी लाग्ने कारणले चुईगम, हाजमोला, क्याण्डि, हल्स, अमिली/पाउँ जस्ता कुरा मुखमा राख्न सकिन्छ भने मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।

११. कतिपयले यात्राका दौरान अध्ययनका लागि किताबमा हेरिरहँदा पनि बान्ता आउने, रिंगटा लाग्ने भएको अनुभव सुनाएका छन् । यसकारण सकभर यात्रामा अध्ययन गर्नु राम्रो होइन ।

१२. मन परेको गीतहरुलाई बजाएर सुन्ने, गफगाफ गर्ने, बाहिरी वातावरणसँग रमाउने हो भने यस्ताखाले समस्या आउँदैन । अथवा माथि भनिएका मध्ये मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक-पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ ।