हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्र दिनको तिथिमा गरिने श्राद्धलाई नै सोह्रश्राद्ध भनिने गरिन्छ । यो सोह्र दिनको पक्षलाई शास्त्रले पितृपक्षको रुपमा लिएको छ । हरेक वर्ष आफ्ना आमा बाबु दिवंगत भएको तिथिमा गरिने वार्षिक श्राद्धलाई वर्षको एकपटक तिथिअनुसार गरिने श्राद्धलाई एकोदृष्टि श्राद्ध भनिन्छ भने पितृपक्षमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिन्छ ।
कल्याण स्मृतिमा ‘श्राद्ध वा पितृ यज्ञः स्यात्’ भनेर श्राद्धलाई पितृयज्ञ भनेको छ । त्यस्तै भविष्य पुराणमा देश, काल, पात्रमा श्राद्धले विधिपूर्वक पितृले पाओस् भनी पुरेत वा ब्राम्हणलाई दान दिनु नै श्राद्ध भनिएको छ । आफ्ना आमाबाबुले जन्म दिई लालनपालन गरी हुर्काइ बढाई सक्षम बनाएर राम्रो संस्कार दिने हुनाले नै छोराहरु आमाबाबुको ऋणि हुने हो ।
छोराहरुले यो ऋण तिर्नुपर्छ भनी शास्त्रमा पनि भनिएको छ । त्यसैले आफू सक्षम भएपछि छोराहरुले आफ्ना आमाबाबुलाई सेवा गर्नुपपर्छ । अन्तिम अवस्थासम्म उनीहरुको लालनपालन सेवा सुरक्षा गरिरहनु पर्छ । अनि मृत्युपश्चात उनीहरुको काजक्रिया कर्मकाण्ड सकिएपछि हरेक वर्षमा दिवंगत भएको तिथिमा श्राद्ध गरेर पितृ ऋण तिर्नुपर्छ ।
छोराहरुले आफ्ना आमाबाबुको सम्झनामा हरेक वर्ष श्राद्ध गर्दा श्रद्धापूर्वक गर्नुपर्छ भनी शास्त्रमा भनेको छ । यदि त्यहाँ श्रद्धा नभई नाम मात्रको कामकाज अर्थात् झारा टराई मात्र भयो भने त्यस्तो श्राद्धको कुनै अर्थ रहँदैन । श्रद्धापूर्वक गरिएको श्राद्धमा पितृहरु आएर अर्पण गरेका खानेकुरा र पिण्ड ग्रहण गरी आफ्ना सन्ततिलाई आशीर्वाद दिन्छन् ।
यदि विश्वासै नगरी अर्थात् गइसकेका पनि आउँछन् र भनी श्राद्ध गरेन भने त्यस्ताका घरमा तिथिका दिन पितृहरु आउँदा श्राद्ध गर्न लागेको नदेखि निराश भई लामो सुस्केरा हाली पितृ फर्कियो भने पितृले हालेको सुस्केराले उसका छोराछोरी सन्ततिको पनि शोषण हुन्छ रे अर्थात् उनीहरु निर्धन भएर जान्छन् अनि छोराछोरीहरु पनि सुकेर जान्छन् भनी शास्त्रमा उल्लेख गरेको छ ।
यसै सन्दर्भमा एउटा कथा यहाँ उल्लेख गर्न चाहन्छु । एकपटक एकजना ब्राम्हणले आफ्नो पिताको श्राद्ध गर्न केही नभई दुःख मानिरह्यो । आफ्नो पिताको श्राद्ध गर्ने तिथि आइपुग्यो । तर उसको घरमा केही थिएन, न पैसा न कुनै सामग्री, अब के गर्ने ? काम पनि गर्न नपाइरहेको समय, आफैलाई खान पनि केही नभएको अवस्था । एक किसिमले त्यो ब्राम्हण भोकै बस्नुपर्ने अवस्था भइसकेको थियो । यस्तो अवस्थामा उसले कसरी आफ्ना पिताको श्राद्ध गर्ने ? केही सिप नलागी त्यस ब्राम्हणले घरमा बाँकी अलिकता खुर्सानी मात्र दिएर श्राद्ध गर्छ ।
उसले यसरी दान दिएको खुर्सानी पितृलोकमा पुग्छ । त्यहाँ भएका पितृहरु जिल्ल पर्छन्, यो के दान दिएर पठाएको भनी । कसैले पनि यसरी खुर्सानी मात्र दान दिएर नपठाउने भएकाले पितृहरुमा के गरौं के गरौं भएछ । यही खुर्सानी भए पनि खानुपर्ला भनी पितृहरुले एक एक टुक्रा बाँडेर खान्छन् ।
अनि ती पितृहरुले विचार गर्छन् कि पक्कै पनि यो दान दिने छोरालाई धेरै दुःख भइरहेको होला, त्यसैले यस्तो खुर्सानी मात्र भए पनि दान दिई पठाएको हो भन्ने ठानेर पितृहरु सबैले मिलेर उसलाई आशीर्वाद दिन्छन । पितृहरुको आशीर्वादको फलस्वरुप त्यो ब्राम्हण दिन परदिन धनी हुन थाल्यो । जे काम गरे पनि सफलता मिल्दै गयो ।
अर्को वर्ष फेरि बाबुको श्राद्ध गर्ने तिथि आइपुग्यो । तर त्यो ब्राम्हणले विधिपूर्वक श्राद्ध नगरी पोहर पनि खुर्सानी मात्र दान गरेको त हो नि भन्दै यस वर्ष पनि खुर्सानी मात्र दान दिन्छ । जसले गर्दा त्यो ब्राम्हण जसरी धनी भएको थियो त्यसरी नै दिन परदिन दरिद्र हुँदै जान्छ । पितृको आशीर्वादबाट धनी भएका त्यो ब्राम्हण फेरि पितृकै श्रापले गरीब भयो । त्यसैले पितृको कार्यमा जथाभावी गर्नु हुँदैन ।
एकथरी मानिसहरु पनि छन् तर्क गर्नेहरु । श्राद्धमा दान गरेको पिण्ड पितृहरुले कसरी प्राप्त गरेर खान्छन् ? त्यो त यहीँ रहिरहेको हुन्छ भनी प्रश्न गर्नेहरु पनि छन् । पिण्ड त्यत्तिकै रहिरहने भएकोले पितृले खाँदैन भनी धेरैलाई पर्न सक्छ । यो कुरा नबुझेकाले पनि हुनसक्छ ।
‘निणर्य सिन्धु’मा माद्री वृहद् धर्मशास्त्रमा यस्तो उल्लेख गरिएको छ, नाम, गोत्र, मन्त्र आदि सहयोगमा परलोकमा छोराहरुले श्रद्धा भक्तिले विश्वासपूर्वक अर्पण गरेको पिण्ड सबै पितृ देवताले व्यवस्था गरेर जुन योनी प्राप्त भइरहेको छ, त्यही योनीले खान हुने वस्तुमा परिणत गरेर पितृहरुले पाई पितृहरुलाई तुप्त गरिदिन्छ । जस्तै आफूले गरेको शुभकर्मको पुण्यले बाबु देव योनीमा पुगेको भए दान दिएको चिज खाने कुरा अमृतको रुपमा परिणत भएर पाउँछ ।
गन्धर्व योनीमा गएको भए उसले भोग गर्न चाहेको चिजमा परिणत हुन्छ । पशु योनीमा गएको भए घाँसको रुपमा परिणत हुन्छ । त्यस्तै नाग योनीमा गएको भए हावाको रुपमा पुग्छ रे । यक्ष योनीमा जन्म भएको हो भने उसैलाई मन पर्ने पिउन हुने खानाको रुपमा पुग्छ ।
त्यसरी नै दानव योनीमा जन्म भएको छ भने रक्सीको रुपमा र प्रेम योनीमा भए रगत र पानी भएर पुग्छ रे । मानिसकै योनी प्राप्त भएको हो भने उसलाई विभिन्न किसिमका खाने कुराको रुपमा पाउँछन रे । यो कुरा धर्मसिन्धु ग्रन्थमा पनि उल्लेख गरिएको छ । धर्मशास्त्रलाई नै मानिसहरुले विश्वास गरेर प्रमाण मान्दै आइरहेका छन । त्यसैअनुरुप सबैले आफ्नो कर्तब्य पनि पूरा गर्नुपर्छ ।
यसरी धर्मशास्त्रमा पनि परिभाषा गरिराखेकोले श्राद्ध गर्दा, अत्यन्तै श्रद्धापूर्वक गर्नुपर्छ । श्रद्धापूर्वक गरेको श्राद्धले मात्र पितृ र श्राद्ध गर्ने दुवैको कल्याण हुन्छ । देवताहरुलाई भाव भए पुग्छ, पितृहरुलाई शुद्ध मन्त्र र शुद्ध भाव भए पुग्छ, भनिन्छ । त्यसैले शुद्ध मन्त्र पढेर श्राद्ध गर्नुपर्छ भनिने हो । धर्मशास्त्रमा सूर्यस्वरुप प्रकाश भएका पितृका आकृति सम्झ र ध्यान गर भनिएको छ । यसरी ध्यान गर्दा पितृ त्यही रुपमा जान्छन भनी राखेको छ । त्यसैले ‘मातृ देवो भबः पितृ देबो भवः’ भनी धर्मशास्त्रमा उल्लेख गरिराखेको हो । श्राद्ध गर्दा ‘हे ! देवस्वरुप पितृ, मैले यो अमृत समानको पिण्ड अर्पण गरेको छु अक्ष्य तृप्तिहोस्’ भनी अर्पण गर्नुपर्छ ।
हरेक वर्ष आश्विन कृष्ण प्रतिपदाका दिनदेखि आश्विन शुक्ल प्रतिपदाका दिनसम्म सोह्र दिनभित्र गरिने श्राद्धलाई नै सोह्र श्राद्ध भनिने यो सोह्र दिनभित्र तिथि अनुसार दिवंगत आफ्ना आमा बाबुको श्राद्ध गरिने हो । हुन त हरेक वर्ष आफ्ना आमाबाबुका दिवंगत भएको तिथिमा श्राद्ध गरिन्छ । तर यो सोह्र श्राद्धको समय पितृपक्ष भएकोले यो समयमा पनि श्राद्ध गरिंदै आएको छ ।
दशैंअघि पर्ने यो सोह्र श्राद्धमा पितृहरुलाई पनि चाडअघि नै बोलाएर खुवाउनु पर्छ भन्ने भावले श्राद्ध गरिने हो भनिन्छ । त्यस्तै कुनै पनि शुभकर्म, विवाह, व्रतवन्ध, न्वारन, पास्नी, पुराण सप्ताह आदि गर्न पनि पितृलाई सम्मानपूर्वक श्राद्ध गरिन्छ । यस्तो श्राद्धलाई वृद्धि श्राद्ध भनिन्छ । सन्ततिहरुले शुभकर्म गर्दा आफ्ना पितृलाई पनि सम्मानपूर्वक बोलाएर खुवाउनु पर्छ । पितृले पनि आफ्ना सन्ततिहरुबाट आश गरेका हुन्छन भन्ने मान्यता रही आएको छ ।
पितृ भनेको मानिसहरुको मात्र होइन देवता, दैत्य, गन्धर्व, राक्षस, नाग, किन्नरमा पनि हुन्छ । त्यसै भएर श्राद्ध गर्ने परम्परा विभिन्न जाति, वर्ग, धर्म, संस्कृति र परम्पराअनुसार गरिने हो । क्षेत्री बाहुनले आफ्नै विधिअनुसार गर्छन भने नेवारहरुले पनि आफ्नै विधिअनुसार श्राद्ध गर्छन ।
नेवारहरुले श्राद्ध गर्दा छिमेकी, चिनेका जति सबैलाई र नचिनेका सकल मानिसहरुको पनि उद्धार होस् भनी पिण्ड अर्पण गर्ने चलन छ । यतिसम्म कि विकलाई पनि पिण्ड अर्पण गर्छन् । सबैको कल्याण होस्, सबैको शुभमंगल होस् । सम्पूर्ण जगतकै शुभ होस्, मोक्ष प्राप्त होस् भन्ने धर्म चेतना भएको नेवारी संस्कृति र संस्कार हो-श्राद्ध ।