• असार ४ २०८२, बुधबार

एमसिसी परियोजना पाँच भित्रै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट

आश्विन १७ २०८०, बुधबार

काठमाडौँ । संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटले एमसिसी परियोजना पाँच भित्रै सम्पन्न हुनेमा आशावादी र विश्वस्त रहेको बताएकी छन् ।

नेपाल भ्रमणमा रहेका उनले पत्रकार सम्मेलन गरी परियोजना प्रारम्भ गरेको पाँच वर्षमा एमसिसी परियोजना सक्नै पर्ने भएकाले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेको आफूले पाएको बताइन्। ‘एमसिसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको छ, यो नेपाल सरकारअन्तर्गतको संरचना हो’, उनले भनिन् ।

प्रमुख कार्यकारी अधिकृत अलब्राइटले विश्वका विभिन्न मुलुकमा यसअन्तर्गतका परियोजना सञ्चालन गरेको उल्लेख गर्दै कार्यान्वयनमा देखिने चुनौतीको सामना गर्न सरोकारवाला सबैको सहयोगको आवश्यकता पर्नेमा जोड दिइन् ।

नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताका साथै छलफल उपलब्धिमूलक भएको उल्लेख गर्दै उनले परियोजना सफल कार्यान्वयनलगायत विषयमा छलफल भएको अवगत गराइन्।

प्रमुख कार्यकारी अधिकृत अलब्राइटले एमसिसी अमेरिकी वैदेशिक सहयोगको महत्त्वपूर्ण अङ्ग भएको र यसको कार्यान्वयनले नेपाल–अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरिन्। उनले यस परियोजनाले नेपालमा भरपर्दो विद्युत् सेवा र सडक सञ्जालको विकास हुने विश्वास व्यक्त गर्दै प्रसारण लाइनको निर्माणले विद्युत् निर्यातको सम्भावनामा समेत सहजता हुने बताइन् ।

यस अनुदानअन्तर्गतका परियोजनाले नेपालको आर्थिक वृद्धिमा टेवा पुग्ने उनको भनाइ थियो । यस अनुदान कार्यक्रममार्फत नेपाल सरकार र एमसिसीले नेपाली जनताका लागि सडक सुधार गर्ने र स्वच्छ तथा सुपथ विद्युत्मा भरपर्दो पहुँच बढाउने गरी तर्जुमा गरिएका परियोजनामार्फत मुलुकको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ तुल्याउने अपेक्षा गरिएको छ ।

सिइओ अल्ब्राइटले यो परियोजनामा नेपाल सरकार स्वयंले पनि लगानी गरेको र यसलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकाले नेपाल सरकारको बलियो प्रतिबद्धता देखिएको बताइन् ।