काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाको शिकार बन्नसक्ने खतरा रहेको बताएका छन् ।
राप्रपाले मंगलवार काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र नीतिः विगत, वर्तमान र भविष्य विषय विचार गोष्ठिमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारको परराष्ट्र नीतिको कमजोरीको कारण नेपाल शक्ति राष्ट्रहरुको प्रतिष्पर्धा स्थानमा परिणत भइरहेको बताए । उनले अहिले नेपालको परराष्ट्र नीति नरहेको टिप्पणी गरे । अध्यक्ष लिङ्देनले नेपालले देश-देशहरुसँग गरिरहेको सम्बन्ध आफ्नो सत्ता टिकाउनेमा केन्द्रित रहेको आरोप लगाए ।
उनले सरकारले छिमेकी देशरुसँग लिने ऋण सहयोग समेत कमिसन, व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेको उल्लेख गरे । उनले विश्व राजनीतिमा आएको बदलाव र भूराजनीतिक परिस्थितीमा नेपाल रहेको बताए । उनले अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल सामान्य अवस्थामा नभएको बताए। उनले सत्तारुढ पार्टी र देशका मुख्य पार्टीहरुको विदेश सम्बन्ध राख्नु सत्ता केन्द्रित र सत्ताको लागि जे पनि सम्झौता गर्ने गरिएको अरोप लगाए ।
उनले विदेशीहरुको साथ समर्थन भएन भने चुनाव जित्न, चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन र सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यतामा मुख्य राजनीतिक पार्टीहरु रहेको बताए । उनले यस्ता क्रियाकलापले परराष्ट्र सम्बन्धमा गम्भिर परिस्थिति निम्त्याइरहेको बताए ।