• मंसिर १२ २०८१, बुधबार

कान किन चिलाउँछ ?

आश्विन १६ २०८०, मंगलवार

कान चिलाउने समस्यालाई हामीमध्ये धेरैले बेवास्ता गरिरहेका हुन्छौं ।

कान चिलाउने धेरै कारण हुन सक्छन् । कान सुक्खा भएर, कानमा तेल हाल्दा, पानी पस्दा, कानेगुजी जम्मा भएर, कानभित्र चाया परेर, ढुसी परेर कान चिलाउने हुन्छ ।

कान चिलाउने समस्या सामान्य सोचेर बस्दा पछि जटिल अवस्था समेत आउन सक्छ । कान किन चिलाउँछ ? यसबारे यहाँ चर्चा गरिन्छ ।

कान सुक्खा भएर

कानमा तेल हाल्ने र कानेगुजी निकाल्ने गर्दा त्यहाँ भएको नरमपन हट्छ र कान सुक्खा हुने हुन्छ । सुक्खापनले गर्दा कानमा चाया पर्छ र कान चिलाउँछ ।

कानेगुजी जम्मा भएर

कानेगुजी जम्मा हुँदा पनि कान चिलाउने गरिन्छ । कानेगुजी निकाल्न तेल हाल्दा कान डम्म हुन्छ, त्यसबेला कान चिलाउने हुन्छ । धेरैले कानेगुजी निकाल्न काठ, पिन, इयरबर्ड, औंलाको प्रयोग गर्छन् । त्यसले कानेगुजी झन् भित्र जान्छ र चिलाउने समस्या अरु बढ्छ ।

कानमा पानी पसेर

कानमा पानी पर्‍यो भने पनि कान चिलाउँछ । पानी पसेर कान डम्म हुने अवस्थालाई इयर स्विमर भनिन्छ । किनभने यो समस्या पौडी खेल्नेहरूलाई बढी हुने गर्छ ।

ढुसी परेर

कानमा पानी पसेपछि चिलाउने हुन्छ र लामो समय रहिरहेमा कानमा ढुसी पर्ने समस्या हुन्छ । यसले कानमा संक्रमण भएर कान चिलाउने समस्या हुन्छ ।

एलर्जी भएर

खानाको एलर्जीले पनि कतिपयलाई कान चिलाउने समस्याण् हुन्छ । दूध, माछा, गहुँबाट बनेको खानेकुरा खाँदा कतिपयलाई कान चिलाउन सक्छ । स्याउ, खर्बुजा, चेरी, किबी, सूर्यमुखीको बीउ, बदाम, ओखरले पनि एलर्जी भएर कान चिलाउने समस्या हुनसक्छ ।

कान जति कोट्यायो उति चिलाउँछ

कान कोट्याउँदा धेरैलाई आनन्द आएको जस्तो लाग्छ । तर कान कोट्याइरहनु हानिकारक हुन्छ । यसले कानभित्र घाउ हुने सम्भावना त हुन्छ नै कान अझ बढी चिलाउने हुन्छ ।

कान कोट्याउँदा कानमा जलन हुने, कानमा पिलो आउने, कान दुख्ने, तरल पदार्थ बग्ने, सुन्ने क्षमतामा कमी आउने, टाउको दुख्ने, कानको वरिपरि सुन्निने जस्ता समस्या आउन सक्छन् ।