• असार ४ २०८२, बुधबार

पछिल्ला राजनीतिक उपलब्धिहरु अहिंसात्मक गतिविधिबाट प्राप्त भएका हुन् : सभापति देउवा

आश्विन १५ २०८०, सोमबार

काठमाडौँ  । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पछिल्लो पटक भएको राजनीतिक उपलब्धि महात्मा गान्धीको अहिंसात्मक बाटोबाटै प्रेरित भएर भएको उल्लेख गरेका छन् ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५४औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले शुभकामना दिँदै सो कुरा उल्लेख गरेका हुन् ।

अस्वस्थताका कारण कार्यक्रममा अनुपस्थित देउवाले दिएको लिखित शुभकामना मन्तव्यमा राजनीतिक परिवर्तनको उपलब्धिस्वरुप मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएर नयाँ संविधान जारी भएको उल्लेख छ ।

संविधानको सफल कार्यान्वयनका लागि अहिंसा र शान्तिको बाटो अनुशरण गर्दै मुलुकलाई शान्ति र समृद्धतर्फ लैजानु आजको प्रमुख आवश्यकता भएको सभापति देउवाको भनाइ छ ।

गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रेरित कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको नाममा स्थापना भएको प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभापति देउवा भाइरल ज्वरो र रुघाखोकी लागेका कारण उपस्थित हुन नसकेका हुन् ।