• असार ४ २०८२, बुधबार

रविहरु बिना बिचारका चटके हुन्, भ्रममा नपरौं : पृथ्वीसुब्बा गुरुङ

आश्विन १५ २०८०, सोमबार

काठमाडौं । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले भने ‘अहिले राजतन्त्र जिन्दाबाद भन्दै लगाइएको नारा कहिलेकाहीँ सुनिने गरेको छ । गणतन्त्रमा सुधार गर्नुपर्ने कुराहरू धेरै होलान्, कसैलाई गणतन्त्र मन नपर्न पनि सक्छ तर गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’
उपमहासचिव गुरुङले रास्वपा र त्यसका अध्यक्ष रवि लामिछानेलाई चटकेको संज्ञा दिए । ‘राजनीतिमा अहिले एउटा कुनचाहिँ चटकेवाल चलिराखेका छन्’, उनले भने, ‘जसको मुलुकप्रति कुनै दर्शन छैन, योजना छैन, कुनै भिजन छैन, न त कुनै नीति नै छ ।’ नीति बिना देशको विकास नहुने दाबी गर्दै उनले त्यो केवल चटक मात्र हुने टिप्पणी गरे ।

रविले लोकप्रियतावादमा टेकेर युवाहरुमा भ्रम छरिरहेको उनको आरोप थियो तर लोकप्रियतावादले देशको विकास नहुने उनले बताए। उनले रवि र रास्वपाको दिग्भ्रमितबाट बच्न आग्रहसमेत गरे ।

उपमहासचिव गुरुङले अझै १० वर्ष अध्यक्ष केपी ओलीको विकल्प नहुने बताए । एमालेमा आगामी अध्यक्षका लागि वर्तमान उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले दाबी गरिरहेका बेला गुरुङले भने,‘विगतमा बहुकेन्द्रहुँदा पार्टीमा समस्या रह्यो, अहिले फेरी त्यही नियति दोहोर्‍याउनु हुँदैन ।’