• मंसिर १४ २०८१, शुक्रबार

म्याद गुज्रिएको बियर बिक्री गर्ने दोहोरी साँझलाई दुई लाख जरिवाना

आश्विन १५ २०८०, सोमबार

काठमाडौँ । काठमाडौँको ठमेलमा म्याद गुज्रिएको बियर बिक्री गर्ने दोहोरी साँझलाई दुई लाख जरिवाना गरिएको छ । बजार अनुगमनको क्रममा ठमेलस्थित गामबेंसी दोहोरी साँझमा ग्राहकलाई म्याद नाघेको बियर बिक्री गर्ने गरेको पाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

एक जना ग्राहकले आइतबार साँझ सो दोहोरी साँझमा कार्ल्सवर्ग बियर पिउने क्रममा म्याद गुज्रेको फेला पारे लगत्तै काठमाडौँ महानगरमा उनले उजुरी गरेका थिए । उनकै उजुरीका आधारमा सोमबार महानगरको अनुगमन टोली सो दोहोरी साँझमा पुगेको थियो । दोहोरी साँझका सञ्चालकले अनुगमन टोलीलाई सधैँ आफूले बियर ल्याउने ठमेलकै भीम स्टोरमा पुर्‍याएका थिए । सोमबार बिहान सो स्टोर्समा म्याद गुज्रेको अन्य बियर फेला नपरेपछि साँझ फेरि महानगरको अनुगमन टोलीले स्टोर्समा छड्के अनुगमन गरेको थियो । सो क्रममा ८ वटा म्याद गुज्रेको बियर फेला परेको महानगरले जनाएको छ ।

म्याद गुज्रेको बियर भेटेपछि तत्काल स्टोर्सका सञ्चालक देवदास मानन्धरलाई चेतावनीसहित दुई लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।

महानगरको टोलीले दोहोरी साँझका सञ्चालकलाई समेत चेतावनी दिएको छ ।