काठमाडौं । एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय जाँचबुझ आयोग नबनेसम्म संसदमा सरकारी एजेन्डामाथि छलफल अघि नबढ्ने बताएका छन् ।
आयोग बनाउने सहमति कार्यान्वयन नगरेर सरकार संसदको बैठकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न उद्दत रहेको उनको आरोप छ । सामाजिक सन्जाल फेसबुकमार्फत् उनले सरकारले मुलुकको समग्र राजनीतिलाई अविश्वास, धोकाधडी र आपसी अन्तरविरोधको पथमा लैजाने चेष्टा गरिरहेको बताए ।
‘भोलि असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै छ। तर, सरकार संसदको बैठकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न चाहन्छ । मुलुकको समग्र राजनीतिलाई अविश्वास, धोकाधडी र आपसी अन्तरविरोधको पथमा लैजाने चेष्टा गर्दै छ,’ बर्तौलाले लेखेका छन्, ‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसद्को बैठकले अनुमोदन पनि गर्यो, तर त्यसलाई कार्यान्वयन गर्न सरकार तयार भएन ।’
आयोग बनाउने सहमतिप्रति सरकारले धोका दिएको भन्दै उनले सावाँ र ब्याजसहितको समग्र हिसाबकिताब आइतबार बस्ने संसद् बैठकमा हुने चेतावनी दिएका छन् ।