सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भन्ने गरिन्छ । वास्तवमा एउटा पक्षमा १५ वटा तिथिमात्र हुन्छन्, तर कसैले भाद्र पूर्णिमाको दिनलाई र कसैले आश्विन शुक्ल प्रतिपदालाई समेत जोडी १६ को सङ्ख्या पुर्याउने गर्दछन् । औँसी र पूर्णिमा पन्ध्रौं क्रममा आउने तिथि भए पनि यी दुबै बेग्लाबेग्लै हुन् भन्ने मान्यता रहेकाले तिथिको सङ्ख्या पनि १६ नै हुन्छ, त्यसैले यसलाई सोह्रश्राद्ध भनिएको हो ।
सोह्रश्राद्धमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ । आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।
हिन्दू परिवारमा कुनै व्यक्तिको मृत्यु भएमा यथासम्भव दाहसंस्कार गर्ने विधान छ । त्यसरी मरेका परिजनको दाहसंस्कार गरिसकेपछि मृतात्माले वायु स्वरूप धारण गर्दछ । त्यस स्वरूपलाई प्रेत भनिन्छ । ‘प्रेत’ अवस्था मृत्युपछि बाह्रौंका दिनसम्म क्रियाकर्म गरिने समयावधिको अवस्था हो । बाह्रौंसम्म गरिने दशगात्रादी कर्महरू अर्थात प्रथम षोडशीदेखि सपिण्डीकरण सम्मको कर्मसमाप्तिपछि मृतात्माले सूक्ष्म शरीर धारण गर्दछ । सूक्ष्म शरीर लिए पनि उसभित्र शोक, माया, मोह, भोक, प्यास आदि जीवनकालका वृत्तिहरू यथावत रहन्छन् । मृत्यु भएको एक वर्षपछि वर्षदिने वार्षिक श्राद्धमा उक्त सूक्ष्म शरीरधारी प्रेत र पितृहरूसँग सम्मिलन गर्ने काम हुने गर्दछ । अतः वार्षिक श्राद्धका क्रममा और्द्धदैहिक क्रिया सकिएपछिमात्र ती मृतात्मा अन्य पितृसरह हुन पुग्छन् । त्यसपछि प्रत्येक वर्ष मरेको पुण्यतिथिलाई समाती तिनका वंशजले एकोद्दिष्ट श्राद्ध गर्ने परम्परा छ ।
पहिलेपहिले सोह्रश्राद्धका सोह्रै दिन श्राद्ध गर्ने प्रचलन थियो । तर अहिले सोह्रश्राद्धको कुनै एउटा दिन श्राद्ध गर्ने र बाँकी दिनहरूमा अन्य श्राद्धमा एकछाकीका दिन बारे सरह चोखोनीतो गरेर बस्ने गरिन्छ । सोह्रश्राद्ध व्यक्ति विशेषको श्राद्ध होइन, यो सबै मृतपितृहरूको साझा श्राद्ध हो । त्यसैले यसलाई एच्छिक रूपमा जुन तिथिका दिन सहज पर्छ, त्यसै दिन श्राद्ध गर्न सकिने श्राद्ध भन्दा अत्युक्ति हुँदैन । तर सामान्यतया व्यक्तिले स्वत्व खोज्ने प्रवृत्ति भएकाले आफ्ना मृतपितृको तिथि समाती श्राद्ध गर्ने परिपाटी प्रचलनमा छ । तर स्वेच्छाले तिथि रोज्नुको अर्थ यस पटक एउटा र अर्को पटक अर्को तिथि रोज्नु हुँदैन । सुरुमा जुन तिथि समात्यो जुठो, सूतक वा छोइछिटोले बाधा नपारे त्यही तिथिमा वर्षैपिच्छे श्राद्ध गर्नुपर्छ । आमरूपमा नेपाली परिवेशमा सोह्रश्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजु) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । तर जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ ।