काठमाडौं । क्यानडाको हाउस अफ कमन्सका सभामुख एन्थोनी रोटाले राजीनामा दिएका छन् । तत्कालीन दोस्रो विश्वयुद्धमा नाजीको तर्फबाट युद्ध लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रित गरेर सम्मान गरेको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका हुन् ।
गत शुक्रबार सभामुख रोटाले ९८ वर्षीय यारोस्लाभ हुँकालाई युक्रेन युद्धको हिरो बताएका थिए भने सांसदहरूले उठेर उनको सम्मान गरेका थिए ।
पछि उनी हिटलरको सेनामा सहभागी भएर विश्वयुद्ध लडेको सार्वजनिक भएको थियो । यो घटनापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद तथा सभामुख रोटाको आलोचना गरेका थिए ।
चौतर्फी आलोचना र राजीनामाको मागपछि रोटाले पनि आत्मालोचना गर्दै राजीनामा दिएको बताएका छन् । ‘यो घटनाका बारेमा म सबैसँग माफी माग्न चाहन्छु,’ उनले भनेका छन् ।