• असार ४ २०८२, बुधबार

संघीयता विरोधी तत्वहरु मधेशमा धार्मिक सद्भाव खल्बल्याउन लागेका छन् : मुख्यमन्त्री यादव

आश्विन ११ २०८०, बिहीबार

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधी तत्वहरू मधेशमा पछिल्ला केही दिनयता धार्मिक सद्भावमा खलल पुर्‍याउन उद्यत देखिएको बताएका छन् ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्तीको अवसरमा स्थानीय मुस्लिम सामुदायले तिरहुतिया गाछीमा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री यादवले यस्तो धारणा राखेका हुन् ।

संघीयता विरोधी तत्वहरूले मुलुकमा धार्मिक द्वन्द्व बढाएर संघीयता, गणतन्त्र, धर्मनिरपेक्षालाई समाप्त गर्न षडयन्त्र गरिरहेको उनको भनाइ छ । मुख्यमन्त्री यादवले भने, ‘संघीय सरकारले प्रहरी प्रशासन आफैसँग राखेर पनि यस्ता तत्वहरूलाई समयमा कारवाही नगर्दा उनीहरूको मनोबल बढ्दै गएको छ । यस्ता उच्छृंखल तत्वमाथि कारवाहीमा ढिलासुस्ती गर्दा मानवीय तथा भौतिक सम्पत्तिको क्षति भइरहेको छ ।’

‘मधेश प्रदेशवासी आपसमा धार्मिक सद्भाव, अमनचयन र भाइचारा चाहेका छन्’, मुख्यमन्त्री यादवले भने, ‘यसलाई कसैले बिग्रान सक्दैन । तर यस्ता नकरात्मक सोचका व्यक्तिहरूबाट सचेत रहन आवश्यक छ ।’ मुलुकको हरेक परिवर्तनमा मुस्लिम सामुदायको उल्लेखनीय योगदान रहेको बताउँदै मुख्यमन्त्री यादवले आफ्नो सरकारले चाडै नै मदरसा शिक्षालाई व्यवस्थित र मूलधारको शिक्षामा समावेश गराउन आवश्यक कानुन ल्याउने बताए ।

कार्यक्रममा, नेकपा एमाले नेतृ जुलिकुमारी महतोले हजरत मोहम्मदले महिलासहित समाजिक न्यायमा ठूलै क्रान्ति ल्याएको बताइन् । धार्मिक सद्भाव र भाइचाराले मात्रै मुलुक विकास र सम्वृद्धितर्फ अगाडि बढ्ने उनले बताईन ।

मौलना इजरायल अहमद रिजवीको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका गृह संचार तथा कानुनमन्त्री मोहम्मद समिमले समाजमा कुनै प्रकारको धार्मिक सद्भावमा खलल पुर्‍याउने कार्य नगर्न सबैसँग अपिल गरे । धार्मिक सद्भाव, भाइचारा तथा संविधानले वर्जित गरेका कुनै पनि काम गरेको खण्डमा राज्यले यस्ता व्यक्तिलाई आवश्यक कारवाही गर्ने बताए ।