• असार ४ २०८२, बुधबार

चीनले श्रीलंकाका गरिब मानिसका लागि १९ हजार घर बनाउँदै, भारतको टाउको दुख्यो

आश्विन १० २०८०, बुधबार

श्रीलंका । चीनले श्रीलंकाका गरिब नागरिकहरूका लागि १९ हजार घर बनाउने भएको छ । श्रीलंकाका शहरी विकास तथा आवासमन्त्री प्रसन्न रणतुंगाका अनुसार बेल्ट एन्ड रोड इनिसियटिभ्स बीआरआई शिखर सम्मेलनमा श्रीलंकामा १९ हजार घर बनाउने सम्झौता हुनेछ ।

आगामी महिना चीनमा बीआरआई फोरमको आयोजना हुँदै छ । उक्त सम्मेलनमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघेसहित एक सय १० भन्दा बढी देशका प्रतिनिधि उपस्थित हुँदैछन् । बीआरआईअन्तर्गत चीनले श्रीलंकामा हजारौँ घर निर्माण गर्दा श्रीलंकामा चीनको उपस्थित झनै मजबुत हुने भारतीय विज्ञहरू बताउँछन् ।

श्रीलंकामा प्रभाव बढाउन चीनले श्रीलंकाका निम्न आय भएका वर्गहरूमा ध्यान केन्द्रित गरेको उनीहरूको बुझाइ छ । भारतले पनि श्रीलंकाका गरिब मानिसका लागि आवास कार्यक्रमको घोषणा गरेको थियो । तर, उक्त कार्यक्रम यतिबेला रोकिएको छ ।

आफू अगाडि नै चीनले श्रीलंकामा काम गर्न सक्नेमा भारत चिन्तित बनेको छ । श्रीलंकाका शहरी विकास तथा आवासमन्त्री प्रसन्न रणतुंगाले आधारभूत पूर्वाधार विकासमा चीन र भारत दुवै देशबाट सहयोगको अपेक्षा भएको बताएका छन् ।

उनले श्रीलंकाले चीन र भारत कसैको पक्ष नलिनेमा पनि जोड दिए । यसअघि श्रीलंका सरकारले एसियाली विकास बैंकसँग गरिबका लागि घर बनाउन मद्दत मागेको थियो । बैंकबाट सकारात्मक प्रतिक्रिया नआएपछि आफूहरू भारत र चीनको भर परेको श्रीलंकाको भनाइ छ ।