• असार ४ २०८२, बुधबार

राजधानी नजिकैको विवाह हलमा भएको आगलागीमा परी कम्तिमा १ सय जनाको मृत्यु

आश्विन १० २०८०, बुधबार

बग्दाद । इराकमा एक विवाह भइरहेको हलमा आगलागी हुँदा कम्तीमा १०० जना मानिसको मृत्यु भएको छ ।
द न्युयोर्क टाइम्सका अनुसार निनेभेह प्रान्तको हामदानिया क्षेत्रमा स्थानीय समयअनुसार मंगलबार राति विवाह समारोह भइरहेको हलमा आगो लाग्दा १५० भन्दा बढी मानिस घाइते भएका छन् ।

राजधानी बग्दाददेखि २५० माइलको दूरीमा रहेको उक्त क्षेत्रमा क्रिश्चियन धर्मालम्बीहरूको बाहुल्यता छ । विवाह पनि क्रिश्चियन परम्पराअनुसार भइरहेको थियो ।

आगलागीको कारण के हो भन्ने खुल्न सकेको छैन । अधिकारीहरूका अनुसार पटाका पड्काएपछि त्यसको झिल्कोले हललाई छोएको हुनसक्छ । विवाह समारोह भइरहेको हल निकै कमसल र प्रज्वलनशील सामानबाट बनाइएकाले आगोले एकाएक विशाल रूप लिएको थियो ।

आगलागीमा परेका दुलहा र दुलहीको अवस्था के छ भन्ने एकिन भइसकेको छैन । इराकका प्रधानमन्त्री मोहम्मद सिया अल-सुडानीले घटनाको अनुसन्धान गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।