• मंसिर ११ २०८१, मंगलवार

अमरावती कान्तिपुरी नगरीमा इन्द्रजात्रा

आश्विन १० २०८०, बुधबार

देवताका राजा इन्द्रको स्वर्ग अमरावती नै कान्तिपुरी नगरीमा झरेको आभास दिने इन्द्रजात्राको रौनकले यो कान्तिपुरी नगर नै स्वर्ग झैं देखिन्छ । यहाँको चहलपहल ज्यादै मनमोहक हुनपुग्छ । नेवारहरुकै मात्र देश रहेको बेलादेखि नै नेपालमण्डलमा नेवारी संस्कृृति अनुरुप इन्द्रजात्रा मनाउँदै आइरहेको छ ।

हरेक वर्ष भाद्र शुक्ल द्वादशीदेखि भाद्र कृष्ण चौथी आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ । नेवारहरुको आफ्नै पनको मौलिक संस्कृति र परम्परा रहीआएको छ, जुन नेवारहरुको पहिचान पनि हो । नेवारहरुको मौलिक संस्कृति नै नेपालको राष्ट्रिय संस्कृतिहुँदै आएकोले संसारमैं परिचित हुन गई प्रख्यात पनि भइरहेको छ । यथार्थमा भन्ने हो भने मन्दिरै मन्दिरको देश भनि चिनिएको नेपाल चित्रमय चाडपर्वको देशको रुपमा पनि विश्वमा चर्चित भइरहेको पाइन्छ ।

यो आठ दिनसम्म मनाइने इन्द्रजात्रा उपत्यकाको वातावरण यतिसम्म रमणीय भइरहेको हुन्छ कि त्यसको बयान गरेर साध्य नै हुँदैन । साँच्चिकै स्वर्ग झैं भइरहन्छ यो काठमाडौं । एकातिर देवताका पनि राजा देवराज इन्द्रलाई पारिजातको फूल चोर्ने चोर भन्दै डोरीले बाँधेर पाताकसेर मरु टोलका सिंहसत्तल अगाडि दोबाटोमा जात्रा गरी राखेको हुन्छ भने अर्कोतिर इन्द्रकी आमा दांगी पनि छोरालाई खोज्न आइरहेकी हुन्छिन् ।

त्यस्तै जीवित देवी देवता गणेश, भैरव र कुमारीको रथयात्रा पनि भइरहेको हुन्छ । इन्द्रलाई खोज्न आएका इन्द्रका हात्ती ऐरावतलाई यहाँका मानिसहरुले पुलुकिसीका नामले नचाइरहेका हुन्छन् । इन्द्रचोकका आकाश भैरवलाई मन्दिर बाहिर बनाइएको मञ्चमा राखी प्रदर्शन गरिएको हुन्छ र आकाश भैरवको मुखबाट जाँड पनि पाइपद्वारा झारी रहेको हुन्छ । जुन जाँड भक्तजनहरुले प्रसादको रुपमा तँछाड मछाड गर्दै खाइरहेका हुन्छन् ।

यसका साथै हल्चोकका सवःभकु भैरव, किलागलको दी प्याखं देवी नाच, मजिपाटको मजिपाः लाखे, कुम्हा ननीका देवी नाच, भक्तपुरको महाकाली नाच र बाँदर नाच पनि देखाइरहेको हुन्छ । त्यसरी नै वसन्तपुर दरबार अगाडिको मञ्चमा दश अवतारको नाच पनि देखाइरहेको हुन्छ ।

काठमाडौ, भक्तपुर र ललितपुरका टोल टोलमा हाथुद्यः (भैरव) देवताका साथै विभिन्न देवताहरु पनि प्रदर्शन गरी राखेको हुन्छ । यसका साथै घरघरका झ्यालहरुमा दलूमत (दीयो) बालेर झुण्ड्याई राखेको हुन्छ । भक्तपुरमा पनि इन्द्रजात्रा मनाउने क्रममा विभिन्न किसिमका देवीनाच र पुलुकिसी ऐरावत हात्तीलाई पनि नचाइरहेको हुन्छ । काठमाडौंमा इन्द्रलाई बाँधेर जात्रा गरिए झैं भक्तपुरमा भने इन्द्रका छोरा जयन्तलाई पनि पारिजातको फूल चोरेको भन्दै बाँधेर जात्रा गरिराखेको हुन्छ ।
ललितपुरमा भने अलि बेग्लै किसिमले इन्द्रजात्रा मनाउने गरिन्छ । ललितपुरमा पनि इन्द्रजात्रा मनाउने क्रममा टोल टोलमै हाथुद्यः भैरवको प्रदर्शन गरी दलुमत (दीयो) घर घरकै झ्यालमा झुण्डयाएर बालिरहेको हुन्छ । भाद्र शुक्ल पूर्णिमाका  दिन जुन दिन समे पुन्ही भनि घरै पिच्छे समेबजी खाने र खुवाउने गरिन्छ ।

यो दिन समे पुर्णिमा  मनाउने भन्दै केटाकेटीहरुले तिहारमा भैलो मागे जस्तै घर घरमा गई ला छकू वयेक समेबजी (छ्वयला मासु आउने गरी चिउरा देउ) भन्दै माग्ने गर्छन् । यही दिन ललितपुरको गाःबहाल स्थित पूणर्चण्डी मन्दिर अगाडी भूजा र भातबाट बनाइएका विभिन्न देवी देवताका मूर्तिहरु प्रदर्शन गरिराखेका हुन्छन् ।

ललितपुरको अर्को विशेषता भनेको च्यासल जाने स्थान भिंद्यलाछीमा रहेको मञ्चमा बेलुका ८-९ बजेतिर झ्यालिंचा नाच देखाउने भन्दै एउटा ठूलो सेतो पर्दामा यौन क्रिडाका विभिन्न आसनहरु छायाँको रुपमा प्रदर्शन गरिन्छ । जसबाट त्यहाँ उपस्थित सबैले भरपुर मनोरञ्जन लिने गर्दछन् । यो परम्परा त्यति बेलाका निरक्षर मानिसहरुलाई यौन शिक्षा दिने उद्देश्यले गरिएको हो । तर यो परम्परा जात्राको रुपमा हालसम्म पनि यथावत रुपमा चल्दै आइरहेको छ ।

काठमाडौं उपत्यकाका यिनै सबै रमणीय दृश्यहरु हेर्दा यो संसारमा कतै स्वर्ग छ भने यहीँ मात्र छ भन्ने लागिरहेको हुन्छ । स्वर्गका सम्पूणर् देवताहरु पनि स्वर्गमा समेत कहिल्यै देख्न नपाएको यस्तो दृष्य देखेर अचम्म मानी हेरिरहेका हुन्छन् । यहाँका मानिसहरुले पनि स्वर्गको आनन्द लिएर आफ्नै पनले जात्रा मनाइरहेका हुन्छन् । यसरी यी देवताहरु यहाँ किन प्रादुर्भाव हुनुपर्‍यो ? इन्द्रजात्रा र कुमारीको रथयात्रा किन गर्नु पर्‍यो ? भन्ने कुरामा क्रमशः प्रस्तुत गर्ने जमर्को गरेको छु ।

एकपटक देवताका पनि राजा इन्द्रले आफ्नी आमाले बसुन्धराको पूजा गर्न आवश्यक पारिजातको फूल स्वर्गमा नभएकोले खोजेर ल्याउ भनेकाले काठमाडौंमा आइ इन्द्रले भिमसेन टोलको ख्यः क्यबः बारीमा पारिजात फूल टिपिरहँदा जग्गाधनी ज्यापुले देखेर इन्द्रलाई चोर भन्दै डोरीले बाँधेर सबैलाई देखाउन आठ दिनसम्म मरु टोलको सिंहसत्तल अगाडी दोबाटोमा प्रदर्शन गरी राखेको हुन्छ ।

इन्द्रलाई खोज्न आएका इन्द्रका हात्ती ऐरावतलाई यहाँका मानिसहरुले पुलुकिसी भन्दै यताउता घुमाउँदै नचाउन थाल्यो । उता स्वर्गमा इन्द्रकी आमाले इन्द्र फर्केर नआउँदा इन्द्रका छोरा जयन्तलाई पारिजातको फूल ल्याउन अह्राउँछिन् । जयन्तले भने भक्तपुरमा आई पारिजात फूल टिप्न खोज्दा जग्गा मालिक ज्यापुले जयन्तलाई चोर भन्दै डोरीले बाँधेर दोबाटोमा प्रदर्शन गरी राखेको हुन्छ । जयन्तलाई खोज्न आएका जयन्तका हात्ती ऐरावतलाई पनि भक्तपुरका मानिसहरुले समातेर नचाउँदै नगर परिक्रमा गराइरहन्छ ।

स्वर्गमा पारिजात फूल इन्द्रले ल्याउला भनि पर्खी बसेकी इन्द्रकी आमाले नाती जयन्तलाई पनि पठाउँदा पनि पारिजात फूल नल्याएकाले यी दुवै बाबुछोरा कहाँ कता हराए भनि खोज्न आउँदा यस कातिन्पुरी नगरीमा इन्द्रलाई डोरीले बाँधी चोर भनि पाताकसी राखेको देख्छिन् । अनि इन्द्रकी आमा दांगीले आफ्नो र इन्द्रको पहिचान गराएर ज्यापुसँग माफी माग्छिन् र किसानहरुलाई धान पकाउन कुइरो दिने र मृतकहरु सबैलाई सुगतिमा पारीदिने बचन दिन्छिन् । तर यहाँका मानिसहरुले पत्याएनन् ।

स्वर्गका राजा इन्द्र र तपाईं आमा हुनुहुन्छ भने हामीलाई हाम्रा दिवंगत बाबु बाजे लगायत सबैलाई स्वर्गमा भेटाई दिनुहोस् भन्छन् । इन्द्रकी आमा दांगीले पनि तिमीहरुका दिवंगतहरुलाई स्वर्गमा गई भेट्ने इच्छा भएका सबैले सत्बीज लिएर मेरो खास्टोको फेरो एकजनाले समाउनु र उसको खास्टोको फेरो अर्कोले समाउनु । यसरी सबैले एकआपसको खास्टोको फेरो समातेर लहरै मिलेर सतबीज छर्दै मेरो पछिपछि आउनु ।

मरिसके पछि स्वर्गमा पुगेका आफन्तहरुलाई भेट्नु । यसपछि सतबीजमा टेक्दै फर्कनु । फर्किसकेपछि थानकोटको इन्द्रदहमा नुहाएर घरमा जानु ।’ इन्द्रकी आमा दांगीले यति भनेपछि इन्द्रलाई सम्मानसाथ डोरी फुकाली छोडी दिएपछि कान्तिपुरका दिवंगत भएका घर परिवारमध्ये एक एक जनाले दांगीले भने जस्तै एक जनाले दांगीको खास्टोको फेरो समाउँछन् र उसले अर्कोको उसले उसको खास्टोको फेरो समाएर सतबीज छर्दै स्वर्गमा पुग्छन् र आफना दिवंगत आफन्तहरुको अनुहार हेरेर स्वर्गका राजा इन्द्रलाई सत्कार गरी फर्केका रहेछन् ।

त्यसबेलादेखि इन्द्रजात्राको बेलामा नेवारहरुले दिवंगत भएका घरका आफन्त सुगतिमा परोस् भनि दांगी जाने चलन चलेको हो । यसैको स्मरण स्वरुप नेवारहरुले काठको दुवै हात फैलाएको इन्द्रको मूर्ति बनाई डोरी बाँधेर इन्द्रजात्रा मनाउने गरिंदै आएको हो । यो चलन लिच्छविकालीन राजा गुणकाम देवले चिकंमुगलको अट्कोनारायण अगाडि इन्द्रध्वज ठड्याएर इन्द्र देवता प्रदर्शन गरी इन्द्रजात्रा मनाउने चलन चलाएका हुन् भनिन्छ । पछि राजा प्रतापसिंह शाहले ने.सं. ८९५ मा तिब्वतलाई युद्धमा हराएको खुशीयालीमा दरबार नजिकै रहेको कालभैरवको सामुन्ने इन्द्रध्वज ठड्याएर मनाउन थालेको हो भनिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वज ठड्याएर इन्द्रजात्रा शुरु गरिन्छ । इन्द्रध्वज ठड्याउन चाहिने ३२ हात लामो गोलो रुख भक्तपुर र काभ्रेको बीचमा रहेको चित्तपोलको जंगलबाट ल्याउनु पर्दछ । यसरी इन्द्रध्वजको रुख ल्याउन काठमाडौंका साल्मी मानन्धर र ठिमीका मानिसहरु मिलेर वनमा गई बोका बलि दिएर रुख काटेर ल्याउनु पर्छ । रुख काट्नु अघि कुन रुख काट्ने हो भनि निणर्य गर्न पनि बलि दिन लगेको बोकालाई नै त्यहाँ छोडी दिन्छ । बोकाले जुन रुखलाई हान्छ त्यही रुखमा बोकाको बलि दिएर इन्द्रध्वजको रुख भनि काटेर ल्याइन्छ ।

इन्द्रको नाममा इन्द्रध्वजोत्थान भनि ३२ हात लामो लिङ्गो रुख ठड्याउँदा गुरुजुको पल्टनले तोप पड्काउँछन् अनि बैण्डबाजा पनि बजाउँछन् साथै मालश्री धुन पनि बजाई वातावरण नै रमाइलो पारिरहेको हुन्छ । इन्द्रको प्रतीकको रुपमा काठको इन्द्रको मूर्ति बनाई इन्द्रचोक, मरु, नरदेवी, किलागल, ज्याबहाल, ब्रम्हटोलका साथै विभिन्न टोलमा प्रदर्शन गरी राखेको हुन्छ ।

इन्द्रध्वजको लिङ्गो ठड्याउने दिन भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ दिनसम्म काठमाडौं, ललितपुर र भक्तपुरका नेवारहरुले विभिन्न स्थानमा हाथुद्यः भैरवका साथै विभिन्न देवताहरु प्रदर्शन गरेर दलुमत (दीयो) घर घरका झ्यालमा झुण्ड्याएर बाल्छन् । भाद्र शुक्ल द्वादशीकै दिन दिवंगतहरुका आफन्तहरुले उपत्यकामा भएका विभिन्न देवी देवता र चैत्यहरुमा पाल्चा मत पालामा बत्ति बालेर बलेको धूप पनि समाई उपाकु जाने भन्दै दिवंगतहरुको आत्मा शान्तिको लागि प्रार्थना गर्दै नगर परिक्रमा गर्दछन् ।

यही दिन मध्यरातमा इन्द्रचोकका आजुद्यः आकाश भैरवलाई मन्दिर अगाडि मञ्च बनाई प्रदर्शनको लागि राखिन्छ । यो दिनदेखि हल्चोकका सवःभकु भैरव, किलागलको पुलुकिसी र देवी नाच, मजिपाटको लाखे, कुम्हाननीको देवी नाच, भक्तपुरको महालक्ष्मी नाच र बाँदर नाचका साथै दश अवतार नाच पनि प्रर्दशन गरिन्छ ।

इन्द्रचोकमा प्रर्दशनको लागि राखिने आजुद्यः आकाश भैरव किराती राजा यलम्बर हुन् । पाँच हजार वर्ष अघि हिन्दुस्थानको कुरुक्षेत्रमा हुन लागेको महाभारत युद्ध हेर्न राजा यलम्बर गएका रहेछन् । महाभारत युद्ध हुने मैदान कुरुक्षेत्रमा गएर राजा यलम्बर एक्लै यताउता हेर्न थालेछन् । महाभारत युद्ध हुने घोषणा भएकै थिएन । भगवान श्रीकृष्णको मनमा मात्र थियो महाभारत युद्ध हुन्छ भन्ने तर एक्कासी  यो किराती कहाँबाट र किन यो युद्ध मैदानमा आइपुग्यो भनि हेर्न र बुझ्न स्वयं श्रीकृष्ण गई बुझी हेर्दा राजा यलम्बरले आफनो परिचय दिंदै पाण्डव र कौरवमध्ये जुन पक्षले हार्छ उसैको पक्षमा युद्ध लड्छु भने ।

महाभारत युद्ध हुने कुरा पत्ता लगाएर यहाँ आउने यलम्बर यति शक्तिशाली थिएकी उसले जसको पक्षमा युद्ध लड्छ उसैको जीत हुन्छ तर हार्नेको मात्र साथ दिइरहयो भने त महाभारत युद्ध कहिल्यै पनि नसकिने भन्ने ठानी श्रीकृष्णले छल गरी सुदर्शन चक्रले यलम्बरको टाउको काटी दिएछन् । महादेवको अंश भएका राजा यलम्बर आफै तान्त्रिक पनि भएकाले तन्त्रको शक्तिले आफनो टाउको जीवितै राखी आकाशबाटै महाभारत पुरै हेरेर आकाश मार्गबाट आफनो देशमा फर्केका रहेछन् । यसरी आकाश मार्गबाट उडेर आएकाले आकाश भैरव भनि मान्ने गेरेको हो ।

काठमाडौंका जनताहरुले आफना राजाको सम्मानमा मन्दिर बनाई इन्द्रचोकमा राजा यलम्बरको टाउको झरेर सिद्ध भएको स्थानमै स्थापना गरी आजुद्यःको रुपमा मान्दै आएको हो भनिन्छ । यही दिनको स्मरणमा हरेक वर्ष आजुद्यः आकाश भैरवको टाउको मूर्ति र अर्कोतर्फ बाकाःद्यः भनि आजुद्यःका मित्रको टाउकोको मूर्ति पनि तान्त्रिक विधिबाट पूजा गरी सार्वजनिक रुपमा प्रदर्शन गरिंदै आएको हो ।

वडा दशैं चाड पनि तीन हप्ता बाँकी रहेको समयमा पर्ने यो जात्रा निकै रमाइलो हुन्छ । वर्षा ऋतु लाग्ने भाद्र शुक्ल अनन्त चतुर्दशीका दिन जीवित कुमारी रथयात्राको पहिलो दिन वसन्तपुर गद्धी बैठकमा राष्ट्र प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि एवं विशिष्टि ब्यक्तिहरुको उपस्थितिमा कुमारीको रथयात्रा चलाइन्छ । साथै जीवित गणेश र भैरवका रथयात्रा पनि गरिन्छ । यही समयमा मजिपाः लाखे, सवःभकु र दश अवतार, महालक्ष्मी र पुलुकिसीको नाच पनि नचाइन्छ ।

यो दिन क्वःने याः (तल्लो टोलको जात्रा) भन्दै कुमारी, गणेश र भैरवको रथ वसन्तपुरबाट अट्को नारायण, चिकंमुगल, लगन, गोफल, ब्रम्हटोल, वन्दे, हिउमत, जोशीदेगल, क्वःहिति, भिमसेन टोल, मरु, इलाछेँ, तहबिलहुँदै कुमारीघर वसन्तपुरमा फर्काएपछि त्यस दिनको रथयात्रा सकाइन्छ ।

यो क्वःने याःको समयमा जोशीदेगलको डबलीमा दि प्याखं देवी नाच नचाइरहेको हुन्छ । यही दिन कुमारीको रथयात्रा सकिए पछि दांगीलाई थःने, क्वःने अर्थात माथिल्लो टोल र तल्लो टोल घुमाइन्छ । इन्द्रकी आमाको प्रतिकको रुपमा मरुटोलबाट सेतो मुकुट र सेतै जामा लगाएकी दांगीलाई धिमे, भुस्या बाजा बजाई नगर परिक्रमा गराइन्छ । दांगीको पछि पछि लाग्दै काठमाडौंका नेवारहरुले सोही वर्षमा दिवंगत भएका आफन्तहरुको नाममा नौथरी गेडागुडी सहितको सतबीज बाटोभरी छर्दै हिंड्छन् । यो दिन स्वर्गजाने बाटो मानिएको थानकोटको इन्द्रदहमा मेला लाग्छ ।

भाद्र शुक्ल पूर्णिमाका  दिनलाई यँयाः पुन्ही भनिन्छ । समे पुन्ही भनिने यो दिन नेवारहरुले घरै पिच्छे छ्वयला, लसुन, अदुवा, कालो भटमास राखेर समेबजी खाने र बाँड्ने चलन छ । घरैपिच्छे केटाकेटीहरुले ‘ला छकू वयेक समेबजी, वलवल पुलुकिसी’ भन्दै समेबजी माग्न जाने चलन छ । समेबजी माग्ने क्रममा पुलुकिसी पनि टोल टोलमा जाने गर्दछ ।
सांझको समयमा इन्द्र र हाथुद्यः भैरवको पूजा गरेर हाथु हायेकेगु भन्दै आजुद्यः आकाश भैरवको मुखमा पाइप जोडेर जाँड झारेर प्रसादको रुपमा जाँड र समेबजी बाँडेर खान्छन् ।

यसैदिन कुमारी रथ यात्राको दोस्रो दिन थःने याः माथिल्लो टोलको जात्रा मनाइन्छ । थःने याः गरिदां पनि कुमारीका साथै गणेश र भैरवको रथ तानेर वसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्यःखा, बांगेमुढा, न्ह्य्कंतल्ला, असन, केलटोल, इन्द्रचोक, मखनहुँदै वसन्तपुरमा पुर्‍याएर रथयात्रा सकाइन्छ । यसरी थःने याः माथिल्लो टोलमा रथयात्रा गरिरहँदा बांगेमुढा र इन्द्रचोकमा दी प्याखं देवी नाच नचाइरहेको हुन्छ ।

आश्विन कृष्ण चौथीका दिन नानीचा याः भन्दै कुमारीको रथयात्रा गरिन्छ । नानीचा याःलाई दथुयाः अर्थात् बीच टोलको यात्रा भनिन्छ । यो इन्द्रजात्राको अन्तिम दिन हो । यो दिन कुमारी, गणेश र भैरवको रथलाई वसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, किलागल, भेंडासीं, इन्द्रचोक, मखन र हनुमानढोका दरबारहुँदै वसन्तपुर पुगेपछि नानीचा याःको समापन गरिन्छ । राजा जयप्रकाश मल्लले भित्रिनी रानी नानीलाई देखाउन कुमारीको रथयात्रा किलागलसम्म पुर्‍याउने गरिएको हो भनिन्छ । यही दिन इन्द्रध्वज विर्सजन गर्ने भन्दै लिङ्गो ढालेर टेकु दोभानमा लगेर विसर्जन गर्ने वित्तिकै इन्द्रजात्रा सकिन्छ ।

जीवित कुमारी देवीलाई यसरी मान्नुपर्ने सन्दर्भमा एउटा ऐतिहासिक तथ्य लुकेको पाइन्छ । राजा त्रैलोक्य मल्लले तलेजु भवानीसँग पासा खेल्दा रहेछन् । कालो पर्दा भित्र तलेजु भवानी र बाहिर राजा त्रैलोक्य मल्ल बसी पासा खेल्दा राजकाज सम्बन्धी कुराकानी पनि गरिंदो रहेछ । तलेजु भवानीले राजकाजका कार्यमा यसो गर्नु उसो गर्नु भनि निर्देशन पनि दिने गर्दो रहेछिन् । यसरी दिनहुँ कुराकानी गर्दै खेल्ने क्रममा एकदिन राजा त्रैलोक्यले पासा हान्दै गरेकी तलेजु भवानीको हात राम्ररी देखेछन् ।

भवानीको हात त यति राम्रो छ भने मुहार कति राम्रो होला भनी उत्सुकतावश पर्दा उघारेर हेर्ने प्रयास गर्दा तलेजु भवनीले अलप हुँदै ‘आइन्दा म आउँदिन शाक्य थरकी बालिकाको शरीरमा म आउने छु । त्यही कुमारी कन्यासँग सरसल्लाह गर्ने गर्नु ।’ भनिछन् । त्यही बेलादेखि शाक्य थरकी जीवित देवी कुमारीको हातबाट राजाले इन्द्रजात्राको समयमा टीका ग्रहण गर्ने चलन चलेको हो भनिन्छ ।

मल्लकालीन अन्तिम राजा जयप्रकाश मल्ललाई श्री कुमारीले ‘अब तिम्रो राज्य गर्ने शक्ति क्षीण भइसक्यो, राज्य बचाई राख्ने हो भने मेरो रथयात्रा गरी देश परिक्रमा गराउनु’ भनेकीले राजा जयप्रकाशले ने.सं. ८७६ देखि कुमारीको रथयात्रा चलाएका हुन । तर राजा जयप्रकाशले सुखसयलमा भूलेर देवी कुमारीको आज्ञालाई समेत उलंघन गरी देश र जनताको चिन्ता नलिई चाडवाड र जात्रामा मात्र भुलिरहे ।

स्मरण रहोस्, नेवारहरुको आफनो धर्म, संस्कृति र परम्परा चलाउँदै आएको राज्यमा गोरखाका राजा पृथ्वीनारायण शाह आई ने.सं. ८८८ मा काठमाडौंमा इन्द्रजात्रा मान्दै कुमारीको रथयात्रा गरी रमाइलोसँग जाँड रक्सी खाई चाड मनाइरहेको समय पारेर अकस्मात चारैतिरबाट घेरेर आक्रमण गरी नेपालमण्डल जितेका हुन् ।

पृथ्वीनारयण शाहले नेवारी संस्कृतिलाई नमानी यहाँ शासन गर्न अप्ठेरो पर्ने कुरा बुझेर नेवारी संस्कृति, चाडबाड र जात्रा सबै जस्तो छ, त्यस्तै मान्ने बचन दिएकाले आजसम्म पनि कुमारीको रथयात्रा चलाउँदै आएको हो ।